बाढीपीडितको बस्तीमा भागीरथा: ‘दुःखमा सहारा बन्नु नै जीवनको असली सार्थकता’


काठमाडौँ । विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा भौतिक पूर्वाधार तथा जनजीवन अस्तव्यस्त बनाइरहेका बेला, राज्यका औपचारिक संयन्त्रहरू अलमलमा देखिँदा नागरिक स्तरका निसर्त र निःस्वार्थ सेवाका हातहरू भने भुइँमान्छेको घाउमा मलम लगाउन बस्ती-बस्ती पुगिरहेका छन्।

भर्खरै थाइल्यान्डको बैंककमा आयोजित भव्य ‘ग्लोबल एसिया नेपाल एक्सेलेन्ट अवार्ड २०२६’ मा प्रतिष्ठित ‘पावर अफ वुमेन अवार्ड २०२६’ बाट सम्मानित भएकी प्रख्यात समाजसेवी भागीरथा विष्ट (सुधा कुमार) यतिबेला आफ्नो व्यक्तिगत सफलता र सम्मानको उत्सव मनाउन छाडेर बाढीपीडितको आँसु पुछ्न दुर्गम प्रभावित क्षेत्रहरूमा खटिएकी छन्।

मोबाइलका भित्ताहरूमा बाढी र पहिरोको भयावह दृश्य देखेर घरभित्र बसिरहन नसकेकी भागीरथा तत्कालै राहत सामग्री बोकेर हिलाम्मे सडक र पहिराका जोखिमहरू पन्छाउँदै धादिङ र नुवाकोट पुगेकी छन्।

राहत बाँड्न रसुवा पुग्ने भागीरथाको भित्री चाहना भए पनि बाढीले क्षतविक्षत सडक छिचोलेर जान नसक्दा उनको राहत अहिलेसम्म धादिङ तथा नुवाकोटको त्रिशूली र वेत्रावतीसम्म पुगेको छ । केही दिनमा फोर ह्वील गाडीको व्यवस्था गरेर गल्छी हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर पीडितहरुलाई राहत बाँड्ने भागीरथाको योजना छ ।

धादिङका हिलाम्मे बस्तीमा आशाको किरण

भोटेकोशी र त्रिशूली नदीको अनियन्त्रित बहावले भीषण विनाश निम्त्याएको धादिङका गल्छी, गजुरी गाउँपालिका र बेल्खु क्षेत्रमा पुगेर उनले झन्डै ४०० बाढीपीडित परिवारलाई प्रत्यक्ष रूपमा खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री यसअघि नै वितरण गरिसकेकी छिन् । काठमाडौँबाट नजिकै भएर पनि गल्छी र बेल्खुका बासिन्दाहरूले पिउने पानीसम्म नपाएको, एक तला घरसम्म लेदो र बालुवा पुरिएको तथा बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको हृदयविदारक दृश्यले उनलाई भावुक बनायो।

“धादिङ पुग्दा सिङ्गो देश नै टोलाएको जस्तो अनुभूति भयो,” भागीरथाले भनिन्, “मानिसहरूसँग न खाने अन्न छ, न त बस्ने ओत नै। तर, यस्तो संकटमा हामीले उनीहरूलाई एक्लो छाड्नु हुँदैन भन्ने अठोटका साथ म फिल्डमा उत्रिएकी हुँ।” फर्किने क्रममा विभिन्न स्थानमा झरेका पहिराका कारण जोखिमपूर्ण यात्रा पार गरेकी भागीरथाको मन भने नुवाकोट र रसुवाका विकट बस्तीहरूतर्फ खिचिरह्यो।

छट्पटाहटले डोर्‍याएको बेत्रावती यात्रा

घर फर्किएर पनि उथलपुथल मन शान्त हुन नसकेपछि उनी पुनः राहत सामग्री जोहो गरेर रसुवाको दिशातिर सोझिइन्। यद्यपि, बाटोका अवरोध र अत्यधिक जोखिमका कारण उनी सोझै रसुवासम्म पुग्न सकिनन्। तर, हिम्मत नहारी उनले सानो गाडीको प्रबन्ध गरी नुवाकोट र रसुवाको सीमावर्ती क्षेत्र बेत्रावतीसम्म राहत पुग्ने व्यवस्था मिलाइन् । बाँकी रहेका सामग्रीहरू सुरक्षित रूपमा त्रिशूलीमा भण्डारण गरी प्रभावित क्षेत्रमा क्रमशः पुर्‍याउने व्यवस्था भागीरथाले मिलाएकी छन्।

“घरमा बसेर समाचार र भिडियो हेर्दा मनमा जुन छट्पटाहट भएको थियो, फिल्डमा पुग्दा अवस्था त्योभन्दा कयौँ गुणा भयावह र दर्दनाक पाइयो,” भागीरथाले भनिन् ।

एक संवेदनशील अभियन्ताका साथै दूरदर्शी विचारकी धनी भागीरथाले वर्तमान संकटलाई व्यावहारिक र विश्लेषणात्मक नजरले हेर्नुपर्नेमा जोड दिएकी छन्। राज्य प्रणालीमाथि मात्र दोष थुपारेर संकट हल नहुने यथार्थलाई औँल्याउँदै उनले भनिन्, “यत्रो ठूलो प्राकृतिक विपत्तिमा सरकारसँग कुनै जादुको छडी हुँदैन कि एकै क्षणमा सबै कुरा ठीक होस्। त्यसैले यस्तो समयमा आलोचनाभन्दा पनि नागरिक र निजी क्षेत्रले सरकारलाई सघाउनु र दुःखमा साथ दिनु हाम्रो पहिलो कर्तव्य हो।”

राहत सामग्रीको देशव्यापी उपलब्धता भए पनि पीडितका हात-हातसम्म पुग्न नसक्नु व्यवस्थापकीय कमजोरी भएको बताउँदै उनले यसको चुस्त वितरणमा ध्यान दिन आग्रह गरिन्।

यसैगरी, प्राकृतिक विपत्तिको यो महासंकटबाट पाठ सिक्दै उनले दीर्घकालीन पूर्वाधार विकास र सहरी योजनाबारे महत्त्वपूर्ण सुझाव दिएकी छन्। खोला र नदीका बगरहरू ओगटेर अनियन्त्रित रूपमा सहर बसाउने होडबाजीले नै आज यो विनाश निम्त्याएको उनको निष्कर्ष छ। “खोलाको बगरमा सहर बसाउने गल्ती अब बन्द गरिनुपर्छ,” भागीरथाले दृढताका साथ भनिन्, “प्राकृतिक बहावलाई थुनेर गरिने विकास वास्तवमा विनाशको कारक बन्छ।”

आशा जगाउने नागरिक निष्ठा

बाढी र पहिरोको यो कहालीलाग्दो स्वरूपले देशको अर्थतन्त्र र पूर्वाधारलाई दशकौँ पछाडि धकेलेको स्पष्ट छ। यस्तो संक्रमणकालीन समयमा जब राज्यका निकायहरू उद्धार र राहतका सुरुवाती चरणमा सुस्त देखिन्छन्, तब भागीरथा विष्टजस्ता निष्ठावान् र सहृदयी समाजसेवीहरूको सक्रियताले भुइँमान्छेलाई फेरि उभिने ऊर्जा र आशा दिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राखेलगत्तै मातृभूमिको दुःखमा मलम लगाउन खटिएकी भागीरथा विष्टको यो समर्पण र सेवाभाव सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको छ। अहिलेको प्राथमिक दायित्व बाँचेकाहरूलाई बचाउनु, बेपत्ताहरूको खोजबिन गर्नु र पुनर्निर्माणमा जुट्नु नै हो। राज्यले पनि यस्ता निःस्वार्थ अभियान्ताहरूको भावनाबाट पाठ सिक्दै राहत र उद्धार कार्यलाई अझ द्रुत गतिमा अगाडि बढाउनु अपरिहार्य छ।