सोलुखुम्बु, १७ भदौ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि रु एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालयको नियमित खर्चका लागि बर्सेनी अनुदान र चन्दामा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै दिगो आम्दानीको स्रोतका लागि अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानबाट लक्ष्यभन्दा रु १५ लाख बढी रकम सङ्कलन भएको उक्त पालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।
अक्षयकोष स्थापनाको अभियानमा देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी र गार्मासँग जोडिएका व्यक्तिले मन खोलेर सहयोग गरेको थियो । सङ्कलित रकम विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोमी शेर्पालाई हस्तान्तरण गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित, शैक्षिक पूर्वाधार र सामग्री व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।
अक्षयकोषको ब्याजबाट नियमित आम्दानी प्राप्त हुने भएकाले स–साना काममा दाताबाट आस गर्न नपर्ने वडाध्यक्ष शेर्पा बताउँछन् । उनले भने, “अक्षयकोषको उद्देश्य रकम सङ्कलन गरेर तत्काल खर्च गर्नु होइन, विद्यालयका लागि दीर्घकालीन आम्दानीको स्रोत तयार गर्नु हो”, उनले भने, “यसबाट प्राप्त हुने आम्दानीलाई शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हित र विद्यालयको दिगो आर्थिक व्यवस्थापनमा उपयोग गरिनेछ ।
मुलुकका सामुदायिक विद्यालयले शिक्षक तथा कर्मचारीको नियमित खर्चबाहेक शैक्षिक सामग्री, प्रयोगशाला, सूचना प्रविधि, पुस्तकालय, विद्यार्थीको अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति तथा भौतिक पूर्वाधारका लागि अतिरिक्त स्रोत खोज्नुपर्ने अवस्था छ ।
उक्त परिस्थितिमा विद्यालयकै नाममा स्थापना गरिएको अक्षयकोषले दीर्घकालीन आर्थिक स्रोत निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया