एक सातादेखि च्यामको फोरजी टावर ठप्प


हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।

टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए ।

उनका अनुसार टावर एक सातादेखि बिग्रिएरको छ, जसबाट बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न समस्या भइरहेको छ । स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा सुचारु गर्न माग गरिरहेका छन् ।

त्यस टावरले जिल्लाको अदानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा सञ्चार सम्पर्क गराउन योगदान दिँदै आएको छ । नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो ।

उनले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताए । सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउनेछ । जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक छदेखि आठ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको बताए । रासस