चन्डिका श्रेष्ठको उद्धारपछि प्रधानमन्त्री बालेनले भने- ‘सिंगो देशलाई आशा दिएको छ’


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताएका छन् । शनिबार साँझ फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्डिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ,’ उनले लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

त्यसअघि पनि सरकारले वृद्धहरूको उद्धार गरिसकेको उनले दाबी गरेका छन् । ‘यसअघि पनि हामीले चन्डिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं,’ प्रधानमन्त्री बालेनले लेखेका छन् ।

यस्तै, कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाएको उनले भनेका छन् ।