काठमाडौँ । गत २०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका शहीदहरूको सम्झनामा सिंहदरबारस्थित संसद् भवन परिसरमा शालिक शिलान्यास गरिएको छ।
आज बिहान गरिएको शालिक शिलान्यास कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, जेनजी शहीदकी आमासमेत रहेकी रास्वपा सांसद रचना खतिवडा, वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमला लगायतको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार धमलाले शहीदको शालिक निर्माण गर्नु मात्रै ठूलो कुरा नभएको बताए। शहीद परिवारको सम्मान, उनीहरूका परिवारका सदस्यलाई रोजगारी तथा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
‘शालिक बनाउनु ठूलो कुरा होइन, शहीद परिवारको जीवनमा परिवर्तन ल्याउनु ठूलो कुरा हो,’ धमलाले भने, ‘शहीद परिवारलाई सम्मान, रोजगारी र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ।’
उनले जेनजी आन्दोलनका क्रममा व्यक्त भएका जनभावना र अपेक्षाअनुसार सरकार अघि बढ्नुपर्ने बताए। देशमा सुशासन कायम गर्दै भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
धमलाले जेनजी शहीदहरूको स्मृतिलाई जीवन्त राख्न छुट्टै ‘जेनजी पार्क’ निर्माण गर्नसमेत सरकारसँग आग्रह गरे।
त्यस्तै , कार्यक्रममा बोल्दै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सरकार जेनजी युवाहरूको चाहना र भावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए। उनले जेनजी आन्दोलनका सपना र अपेक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, सरकारले जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।




प्रतिक्रिया