काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार साँझ दिल्ली मेट्रोमा अचानक यात्राका रूपमा देखिएपछि स्कुले बालबालिकासहित यात्रुहरू खुसी र आश्चर्यमा परे । मोदी करिब २० मिनेटको यात्राका क्रममा येलो लाइनको मेट्रो चढेर दिल्ली विश्वविद्यालयस्थित ‘विश्वविद्यालय’ स्टेसनसम्म पुगेका थिए । मेट्रोमा प्रवेश गर्नुअघि उनले ट्राभल कार्ड प्रयोग गरी टिकटिङ गेट पार गरेका थिए ।
मेट्रोको डिब्बामा पुगेपछि मोदीले विभिन्न उमेर समूहका स्कुले विद्यार्थीहरूसँग हात मिलाउँदै कुराकानी गरे । उनले बालबालिकासँग सहज रूपमा संवाद गर्नुका साथै केही महिला यात्रुसँग पनि कुराकानी गरेका थिए ।
यस क्रममा मोदीले एक बालिकालाई ‘उनको नाम र कहाँ जाने हो’ भनी सोधेका छन् भने अर्का बालकलाई ‘जन्माष्टमी’ मनाए नमनाएको बारेमा समेत सोधेका छन् । त्यसो त भारतीय प्रधानमन्त्रीले बालबालिकासँग तिनको पठन संस्कृतिको बारेमा पनि कुराकानी गर्दै अटोबायोग्राफी र बायोग्राफी पढ्न समेत सुझाएका छन् । मोदीले भनेका छन्, ‘जिसके भि अटोबायोग्राफी पढो…खेलाडीके पढसक्ते हो, सिने कलाकारकी पढसक्ते हो….साइनटिस्टकी पढसक्ते हो….।’
प्रधानमन्त्रीलाई आफूहरूसँगै मेट्रोमा यात्रा गरिरहेको देखेपछि बालबालिकाको उत्साह बढेको थियो भने अन्य यात्रु पनि उनीसँग सहजरुपमा कुराकानी गरिरहेको सामाजिक सञ्जालका भिडियोमा देख्न सकिन्छ ।
मोदी दिल्ली विश्वविद्यालयमा आयोजित श्रीराम कलेज अफ कमर्स (एसआरसीसी) को शताब्दी समारोहमा विद्यार्थीहरूलाई सम्बोधन गर्न मेट्रोबाट पुगेका थिए ।
यो मोदीको दिल्ली मेट्रो यात्रा भने पहिलो होइन । उनले २०२३ मा दिल्ली विश्वविद्यालयको शताब्दी समारोहमा सहभागी हुन मेट्रो यात्रा गरेका थिए । त्यसअघि २०१५ मा फरिदाबाद विस्तार लाइन उद्घाटन गर्न पनि उनले दिल्ली मेट्रो प्रयोग गरेका थिए । त्यस्तै, फेब्रुअरी २०२६ मा उनले मेरठ मेट्रोमा यात्रा गरेका थिए । एजेन्सी




प्रतिक्रिया