काठमाडौ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार, राहत र विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–दक्षिण कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको छ।
विशेषगरी भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका विषयमा दुवै मन्त्रीबीच गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा दक्षिण कोरिया सरकारप्रति आभार व्यक्त गरे। बाढीपीडितका लागि मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएकोमा पनि उनले धन्यवाद दिए।
परराष्ट्रमन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताए। भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने गरी दिगो तथा सुरक्षित पूर्वाधार निर्माणमा जोड दिइने उनको भनाइ थियो।
उनले ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने उल्लेख गर्दै यस अभियानमा दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले पनि नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आफ्नो सरकार सहयोग गर्न इच्छुक रहेको बताए।
विदेशमन्त्री चोले जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको बताए। जलवायु परिवर्तनका असर तथा त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र दक्षिण कोरियाले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने उनको धारणा थियो।
नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा दक्षिण कोरियाले समेत आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता चोले व्यक्त गरे। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र दक्षिण कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल र दक्षिण कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो विपद्का क्रममा दक्षिण कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता तथा ऐक्यबद्धतालाई थप मजबुत बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया