कृष्णभीरमाथि वैकल्पिक ट्र्याक: भदौ मसान्तसम्म राजमार्ग सञ्चालन गर्ने गरी काममा तीव्रता


चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले सडक भासिएपछि अवरुद्ध बनेको यातायात पुनः सञ्चालनका लागि माथिल्लो भागबाट नयाँ ट्र्याक खोलिएको छ। निर्माण सामग्री तथा प्राविधिक उपकरण लैजाने बाटो तयार भएसँगै अहिले सो ट्र्याकलाई फराकिलो र व्यवस्थित बनाउने काम तीव्र पारिएको छ।

नौबिसे–मुग्लिन सडक आयोजनाका अनुसार डाँडामाथिको रुख कटान र झाडी फाँडेर दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ। हाल भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने काम भइरहेको छ। सर्वसाधारणका सवारीसाधन सञ्चालनका लागि भने केही समय लाग्नेछ। आगामी भदौ मसान्तभित्र गाडी गुड्ने गरी आयोजनाले काम अघि बढाएको छ।

मुख्य सडकबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक तयार पारिएको छ। अहिले यो ट्र्याक निर्माण सामग्री ओसारपसार, इन्धन पुर्याउन र कामदार आवतजावतका लागि मात्र प्रयोग भइरहेको छ। आपत्कालीन अवस्थामा सर्वसाधारण पैदल हिँडेर वारपार गर्न सक्ने भए पनि गाडी सञ्चालनका लागि स्लोप कटिङ र भित्ता काट्ने काम अझै बाँकी छ।

कामलाई तोकिएको समयमै सम्पन्न गर्न आजदेखि थप भारी उपकरणहरू परिचालन गरिएको छ। कार्यस्थलमा एक्साभेटरको सङ्ख्या सात पुर्याइएको छ भने एउटा जेसिबी, एउटा लोडर र दुई वटा बुल्डोजरसहित पर्याप्त प्राविधिक जनशक्ति खटाइएको छ। आवश्यकताबमोजिम थप मेसिनरी प्रयोग गरी डिजाइनअनुसार सडक पुनर्निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ।