राहत बोकेर धुन्चे पुग्नै सास्ती: धमलाले गरे मन्त्रीकाे ध्यानाकर्षण, ‘एक महिनाभित्र ग्राभेल गर्ने’ प्रतिबद्धता


काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले पासाङ ल्हामु राजमार्गमा क्षति पुर्‍याएपछि रसुवाको धुन्चे जोड्ने मुख्य सडक अवरुद्ध हुँदा सञ्चालनमा ल्याइएको वैकल्पिक सडकमार्गले राहत लिएर जानेहरूलाई नै सास्ती दिएको छ।


काठमाडौं–टोखा–छहरे–गड्खार पुल–अपर नर्जा–लच्याङ–सरमथली–पाटीखर्क–बोगटीटार–कालिकास्थान हुँदै धुन्चेसम्मको वैकल्पिक सडक हाल सञ्चालनमा रहे पनि सडक हिलाम्मे र अत्यन्तै कठिन अवस्थामा रहेको हाे । ठूला सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था रहेकाले साना गाडीमार्फत मात्रै राहत सामग्री लैजानुपर्ने बाध्यता छ।


रसुवा बाढीपीडितका लागि राहत सामग्री लिएर पुगेका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले यही सडकका कारण लामो र कष्टकर यात्रा गर्नुपरेको बताएका छन्। यसैक्रममा राहत सामग्री लिएर रसुवा पुगेका वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि लप्च्याङ क्षेत्रमा सडकको अवस्थाका कारण समस्यामा परेका थिए। सडक हिलाम्मे भएपछि गाडी अघि बढ्न नसकेपछि आफू गाडीबाट ओर्लिएर गाडीलाई धकेल्दै र तान्दै अगाडि बढ्नुपरेको धमलाले बताए।


‘राहत लिएर जाँदा लप्च्याङमा गाडी नै फस्यो। हामी आफैँ गाडीबाट ओर्लिएर धकेल्दै, तान्दै बल्ल अगाडि बढ्न सक्यौँ,’ धमलाले भने, ‘राहत बोकेर जाने धेरैले यही समस्या भोगिरहेका छन्।’


उनका अनुसार सडक कालोपत्रे वा कम्तीमा व्यवस्थित रूपमा निर्माण भएको भए करिब तीन घण्टामा पुग्न सकिने दूरी पार गर्न अहिले १२ देखि १८ घण्टासम्म लाग्ने अवस्था छ। सडकको दयनीय अवस्थाका कारण राहत सामग्री समयमै प्रभावितसम्म पुर्‍याउनसमेत कठिनाइ भइरहेको धमलाले बताए।


सडकको यही अवस्थाबारे धमलाले आज भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारस्थित संसद् भवन परिसरमा जेनजी पार्कको शिलान्यास कार्यक्रममा मन्त्री लम्साललाई भेटेर उनले आफू राहत लिएर रसुवा जाँदा प्रत्यक्ष रूपमा देखेको सडकको अवस्थाबारे जानकारी गराएका हुन्।


धमलाले वैकल्पिक सडकलाई तत्काल व्यवस्थित गर्नुपर्ने भन्दै अभियानको तर्फबाट औपचारिक ध्यानाकर्षणपत्रसमेत बुझाउने तयारी गरेकाे बताए। धमलाको ध्यानाकर्षणपछि मन्त्री लम्सालले एक महिनाभित्र उक्त वैकल्पिक सडकमा ग्राभेल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।


उक्त सडकखण्ड नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको निर्वाचन क्षेत्रमा पर्ने भएकाले सडकको अवस्था लामो समयदेखि सुधार नभएको भन्दै उनको समेत आलोचना भइरहेको छ। अहिले विपत्तिको समयमा राहत पुर्‍याउनसमेत कठिन हुने गरी सडक जीर्ण रहेको भन्दै स्थानीयले पनि सम्बन्धित जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका छन्।