काठमाडौँ । गत भदौ १० गते चीनको तिब्बत हुँदै आएको विनाशकारी बाढीमा परेर नेपाली सेनाका ४५ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना सुरक्षाकर्मी अझै बेपत्ता रहेका हुन् ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज तथा उद्धारमा निरन्तर खटिरहेका छन् । तीन वटै सुरक्षा निकायको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
उनले बाढीका कारण आफ्ना साथीहरू गुमाएको पीडाका बिच पनि सुरक्षाकर्मी खोज तथा उद्धारमा अहोरात्र खटिरहेको बताएका छन् । बाढीले थुपारेको दलदल र भग्नावशेषमा सुरक्षाकर्मीले बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनको काम गरिरहेको उनले उल्लेख गरेका छन् ।




प्रतिक्रिया