काठमाडौँ । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरेको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । यस्तै, त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ।
त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन्। अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनी एक्साभेटर’ र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र हेलिकप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्साभेटर टनेल इलाकामा लैजाने काम भइरहेको छ ।
माथिल्लो त्रिशुली–१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो । सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानलाई तीव्र बनाएको छ ।
सेनाको इन्जिनियरिङ फौजबाट खटिएका ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ। सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा सैनिक परिचालित भएका छन्। रासस




प्रतिक्रिया