बाँके, भदौ २३ । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई ।
भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजू ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा छन् ।
बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रूपमा रहेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबिच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ ।
अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।
“अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाए, “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुबेका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठुलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गरे ।
आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भने, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजू र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”
भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ ।




प्रतिक्रिया