काठमाडौँ । विश्वकै सबैभन्दा धेरै तलब पाउने राजनीतिक नेता सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा करिब ११ लाख अमेरिकी डलर बराबरको वृद्धि हुने भएको छ ।
सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीको तलब बढाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री वङको वार्षिक पारिश्रमिक प्याकेज २२ लाख सिंगापुर डलरबाट बढेर करिब ३६ लाख सिंगापुर डलर पुग्नेछ । यो वृद्धि ६० प्रतिशतभन्दा बढी हो ।
वङले तलब वृद्धिबाट प्राप्त हुने अतिरिक्त रकम आगामी पाँच वर्षमा परोपकारी संस्थालाई दान गर्ने बताएका छन् । सरकारले उच्च सरकारी तलब आवश्यक रहेको बताउँदै सक्षम र प्रतिभाशाली व्यक्तिलाई राजनीतिमा आकर्षित गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ । सिंगापुर सरकारले विगतदेखि नै उच्च तलबले सरकारी अधिकारीलाई भ्रष्टाचारबाट टाढा राख्न सहयोग गर्ने तर्क गर्दै आएको छ ।
प्रधानमन्त्री वङका अनुसार व्यवसाय क्षेत्रका उच्च तहका व्यक्ति तथा वरिष्ठ सरकारी अधिकारीलाई आफ्नो आकर्षक करियर छाडेर राजनीतिमा आउन मनाउन कठिन भइरहेको छ ।
सरकारले उनीहरूले निजी क्षेत्रमा कमाउने रकमसँग प्रतिस्पर्धा गर्न नसके पनि राजनीतिमा आउनका लागि आर्थिक अवरोध अनावश्यक रूपमा ठुलो बनाउन नहुने उनको भनाइ छ । नयाँ तलब प्रणालीअन्तर्गत सिंगापुरका मन्त्रीहरूको आधारभूत पारिश्रमिक पनि करिब ११ लाखबाट बढेर १२ लाख सिंगापुर डलर पुग्नेछ ।
कार्यसम्पादनका आधारमा उनीहरूको वार्षिक आम्दानी कार्यकालको अन्त्यसम्म करिब १३ लाख ५० हजार सिंगापुर डलरसम्म पुग्न सक्ने बताइएको छ । मन्त्रीहरूको पारिश्रमिकको केही हिस्सा देशको बेरोजगारी दर, आम्दानी वृद्धि र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिजस्ता आर्थिक सूचकमा आधारित हुनेछ ।
तर तलब वृद्धिको निर्णयलाई लिएर सिंगापुरमै आलोचना सुरु भएको छ । देशमा रोजगारीको सुरक्षा, नयाँ स्नातकका लागि रोजगारीको अवसर र बढ्दो जीवनयापन खर्चबारे चिन्ता भइरहेका बेला नेताहरूको तलब बढाउने निर्णय जनताको समस्याप्रति असंवेदनशील भएको आलोचकहरूको भनाइ छ ।
सिंगापुरमा हाल औसत मासिक आय ५ हजार ७७५ सिंगापुर डलर रहेको छ । त्यसको तुलनामा प्रधानमन्त्री र मन्त्रीहरूले पाउने वार्षिक पारिश्रमिक निकै उच्च भएकाले यो विषय लामो समयदेखि विवादको विषय बन्दै आएको छ । हाल प्रधानमन्त्री वङको खाइपाइ आएको तलब वार्षिक २२ लाख सिंगापुर डलर छ ।
वृद्धिपछि उनको आम्दानी विश्वका अन्य प्रमुख राजनीतिक नेताभन्दा निकै अगाडि रहनेछ । हङकङका प्रमुख कार्यकारी जोन लीले करिब ७ लाख १९ हजार अमेरिकी डलर र स्विट्जरल्यान्डका राष्ट्रपति गाय पार्मेलिनले करिब ६ लाख ६ हजार अमेरिकी डलर कमाउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४ लाख अमेरिकी डलर छ भने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमको करिब २ लाख ३० हजार डलर रहेको छ । एजेन्सी




प्रतिक्रिया