बाढीले क्षतविक्षत रसुवामा राहत बोकेर पुगिन् समाजसेवी भागीरथा, घरैपिच्छे काजक्रिया र हारगुहार


१८ घण्टाको जोखिमपूर्ण यात्रा पार गर्दै चिलिमेसम्म पुगेर खाद्यान्न र सोलार वितरण; धादिङ र नुवाकोटपछि रसुवाका दुर्गम बस्तीमा मलम लगाउने प्रयास

रसुवा — भोटेकोशी र त्रिशूली नदीको बाढीले रसुवामा पारेको जनधनको भीषण क्षतिपछि पीडितको घाउमा मलम लगाउन समाजसेवी भागीरथा विष्ट (सुधा कुमार) राहत सामग्री बोकेर प्रभावित बस्तीमै पुगेकी छन् । मुसलधारे वर्षा र पहिराका कारण सडक सञ्जाल क्षतविक्षत बनेको अवस्थामा त्रिशूलीबाट १८ देखि २० घण्टाको जोखिमपूर्ण यात्रा पार गर्दै उनी रसुवाको चिलिमे क्षेत्रसम्म पुगेकी हुन् ।

भर्खरै थाइल्यान्डको बैंककमा आयोजित ‘ग्लोबल एसिया नेपाल एक्सेलेन्ट अवार्ड २०२६’ मा प्रतिष्ठित ‘पावर अफ वुमेन अवार्ड २०२६’ बाट सम्मानित भएकी विष्ट व्यक्तिगत खुसी र उत्सव मनाउन छाडेर सिधै बाढीपीडितको आँसु पुछ्न फिल्डमा खटिएकी हुन् ।

बाढीपहिरोले रसुवाका धेरैजसो बस्तीमा कहालीलाग्दो क्षति पुर्‍याएको छ । “रसुवामा घरैपिच्छे मृतकको काजक्रिया भइरहेको छ, ९० प्रतिशत मानिसहरू विस्थापित र बिजोग अवस्थामा छन्,” विष्टले भनिन्, “एउटै घरका सात-आठ जनासम्म हराएका छन् । मुख्य समस्या केरुङ नाकामा काम गर्न गएका परिवारका पुरुषहरू गुमेपछि अहिले बस्तीमा वृद्धावृद्धा, महिला र बालबालिका मात्रै सहाराविहीन अवस्थामा छन् ।”

राज्यका औपचारिक संयन्त्रहरू अझै पुग्न नसकेको ती दुर्गम बस्तीहरूमा स्थानीयको मागअनुसार उनले एक-एक बोरा चामल, नुनका साथै बिजुली र टेलिफोन सम्पर्कविच्छेद भएका स्थानका लागि सोलार लाइट र मोबाइल चार्जिङ सेट वितरण गरेकी छन् ।

सडकको दुरावस्थाका कारण सबै राहत सामग्री एकैपटक रसुवा लैजाने अवस्था नभएपछि विष्टले नुवाकोटको त्रिशूलीमा ‘होल्डिङ सेन्टर’ मा तरकारी र अन्य राहत सामग्री भण्डारण गर्न दिएर आफू रसुवातिर लागेकी थिइन् ।

“सडक गतिलो नभएकाले छामेर बामे सर्दै त्रिशूलीबाट हिँडेका थियौँ । राम्चेमा पुगेर एक-डेढ घण्टा फ्रेस भएपछि चिलिमे हाइड्रोपावर क्षेत्रसम्म पुगेर घरैपिच्छे राहत बाँड्यौँ,” उनले भनिन् । हाल प्रभावित क्षेत्रका होटल तथा घरहरूमा खाना पकाउने ग्यासको समेत चरम अभाव रहेको उनले जानकारी दिइन् । ग्यास सिलिन्डरको माग भए तापनि सडकको दुरावस्थाका कारण आफूले लैजान सक्ने अवस्था नरहेको समाजसेवी विष्टले प्रस्ट पारिन् ।

रसुवाका बाढीपीडितको कहालीलाग्दो अवस्था प्रत्यक्ष नियालेर फर्किएकी विष्टले पीडितको घाउमा मलम लगाउन आफूले गरेको सहयोग सोचेजति पर्याप्त हुन नसकेको बताएकी छिन्। राहत सामग्री वितरण गरेर फर्किएपछि प्रतिक्रिया दिँदै उनले पीडितको अत्यासलाग्दो स्थितिअगाडि आफ्नो प्रयास निकै अपुग महसुस भएको भन्दै दुःख व्यक्त गरेकी छन्। उनले सरकार र अन्य सहयोगी हातहरु पनि छिटोभन्दा छिटो रसुवा पुग्नुपर्नेमा जोड दिएकी छिन् ।

रसुवा पुग्नुअघि विष्टले बाढीबाट प्रभावित धादिङका गल्छी, गजुरी गाउँपालिका र बेल्खु क्षेत्रमा पुगेर झन्डै ४०० परिवारलाई खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरण गरिसकेकी छन् । काठमाडौँबाट नजिकै भएर पनि गल्छीका बासिन्दाले पिउने पानी नपाएको, एक तला घरसम्म लेदो पुरिएको र सञ्चार सम्पर्कविच्छेद भएको दृश्यले आफूलाई स्तब्ध बनाएको उनले बताइन् ।