इरानविरुद्धको युद्धमा कुनै पश्चात्ताप छैन : ट्रम्प


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा जस्तोसुकै असर परे पनि इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चात्ताप नभएको बताएका छन् ।

‘फक्स न्युज’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले पुनः निर्णय लिनुपरे पनि आफूले यसअघि लिएको कदम नै दोहोर्‍याउने स्पष्ट पारे । उनले आफू ‘पश्चात्ताप’ भन्ने शब्दमा विश्वास नगर्ने बताउँदै भने, “तपाईं सधैँ आफूमाथि अलिकति प्रश्न उठाउन सक्नुहुन्छ ।”

ट्रम्पले युद्धका कारण आफ्ना समर्थकहरू निराश वा हतोत्साहित भएका छन् भन्ने दाबीलाई खारेज गरेका छन् । उनका अनुसार, आफूले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन कदम चालेकामा उनका समर्थकहरू गर्व गर्छन् । 

ट्रम्पले मध्यावधि चुनावलगत्तै यो युद्ध समाप्त हुने आफ्नो विश्वास पनि पुनः दोहोर्‍याए । उनले तेहरानले चुनावलाई प्रभावित पार्ने प्रयास गरिरहेको र यसले कंग्रेसमा रिपब्लिकन पार्टीको नियन्त्रणमा असर पार्न सक्ने आरोप लगाए ।

इरानसँग जारी द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा भएको वृद्धि  चुनावमा रिपब्लिकनहरूका लागि प्रमुख मुद्दा बनेको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि इरानले जवाफी कारबाही गरेको थियो । राेयटर्स