अस्करका लागि चुनियो ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’


काठमाडौ । सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट चलचित्र ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले दुई नेपाली कथानक चलचित्रमध्ये ‘तिनीहरू एलिफेन्ट्स इन द फग’लाई अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्वका लागि सिफारिस गरेको हो।

समितिका अनुसार अस्कर प्रतिस्पर्धाका लागि ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई चलचित्र प्राप्त भएका थिए। दुवै चलचित्रलाई एकेडेमीले निर्धारण गरेका मापदण्डका आधारमा मूल्याङ्कन गरिएको थियो।

प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलगायत विभिन्न पक्षमा गहन अध्ययन र मूल्याङ्कन गरेपछि ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट गरिएको समितिले जनाएको छ।

नेपालबाट अस्करका लागि चलचित्र छनोट भएसँगै अब ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्नेछ। अस्करको अन्तिम मनोनयनमा पर्न भने चलचित्रले एकेडेमीको आगामी छनोट प्रक्रिया पार गर्नुपर्नेछ।