काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश सापकोटाले पार्टीको नीति तथा विधानविपरीत गतिविधि गर्ने जो-कसैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन् ।
पार्टी हितविपरीत अभिव्यक्ति दिने क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार र अमरेश सिंहमाथि कारबाही हुन्छ भनेर रिपोर्टर्स क्लबमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा सांसद सापकोटाले भने, ‘संसदीय मर्यादा र पार्टी विधान मिच्नेलाई छाड्न सकिँदैन । पार्टीको विधान मिचेमा सभापतिमाथि त कारबाही हुन्छ भने अरुमाथि किन कारबाही नहुने ?’
सांसद सापकोटाले यदि कुनै सांसद गलत काममा संलग्न भए रास्वपामा ‘राइट टु रिकल’ को व्यवस्था लागू हुने बताए । उनले भने, ‘पार्टीको संसदीय मर्यादा एकातिर रहन्छ तर नीति र विधानविपरीत कसैले गलत काम गरे पार्टीले आवश्यक कारबाही गर्छ ।’
हालैका प्राकृतिक विपद् र बाढीपहिरोका सन्दर्भमा बोल्दै उनले ठूलो बेगमा बाढी आएकाले पूर्वसूचना जारी गर्दागर्दै पनि क्षति हुन पुगेको बताए । ‘स्थानीय प्रशासनले सकेसम्म समयमै खबर गरेको थियो, सबै मिलेर विपद् व्यवस्थापनमा खटिएका छौँ । यथाशक्य प्रयास गरिएको छ,’ उनले भने ।
प्रधानमन्त्रीको मौनताप्रति सापकोटाले धेरै वा कम बोल्नु व्यक्तिगत स्वभाव र स्वतन्त्रताको कुरा भए पनि संसद्मा चाहिने विषयमा बोल्न र काम गर्न आवश्यक रहेको औंल्याए ।
जलवायु परिवर्तनको मुद्दामा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीरताका साथ आफ्ना एजेन्डा प्रस्तुत गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
त्यस्तै, रोजगारीको परिभाषालाई फराकिलो बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारी जागिर मात्र रोजगारी नभएको तर्क गरे । ‘कृषि, व्यापार–व्यवसाय तथा नागरिकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएर स्वरोजगार बनाउनु पनि रोजगारी नै हो । सरकारले पुराना उद्योगहरू पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ र कर्णाली क्षेत्रका लागि पनि विकास बजेट राम्रै विनियोजन भएको छ,’ सापकोटाले थपे ।
यसैगरी, सामाजिक सञ्जालको पछिल्लो प्रयोगबारे असन्तुष्टि जनाउँदै उनले यसलाई नियमन मात्र नभई नियन्त्रण नै गर्नुपर्ने अवस्था आइसकेको दाबी गरे । सामाजिक सञ्जालमा जोकसैबाट हुने अराजक गतिविधिलाई रोक्नैपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया