सिन्धुपाल्चोक कांग्रेस अधिवेशनको तयारी तीव्र, तरुण दल नेतृत्वबीच छलफल


सिन्धुपाल्चोक । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइराला, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा र नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष संजय लामाबीच भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकको आगामी जिल्ला अधिवेशन, संगठन सुदृढीकरण तथा जिल्लाको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ।

आगामी जिल्ला अधिवेशनलाई व्यवस्थित, मर्यादित र सहमतिको वातावरणमा सम्पन्न गर्ने विषयमा भेटवार्ताका क्रममा विशेष छलफल भएको थियो। पार्टी संगठनलाई थप मजबुत बनाउँदै नेता तथा कार्यकर्ताबीच समन्वय, सहकार्य र आपसी एकता बढाउने विषयमा समेत विचार–विमर्श भएको थियो ।

त्यस्तै, नेपाल तरुण दललाई जिल्लाका विभिन्न तहमा थप सक्रिय र प्रभावकारी बनाउने, युवालाई पार्टी संगठनसँग जोड्ने तथा आगामी राजनीतिक गतिविधिमा तरुण पुस्ताको भूमिका बढाउने विषयमा पनि छलफल भएको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लामाले बताए ।