काठमाडौं। भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाईंकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीको धारासमेत बाढीले बगाएको छ । गोसाईंकुण्ड गाउँपालिकाका वडा-१, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् ।
ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् । त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा-३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्याएको विभागले जनाएको छ ।
कैदलटार, सिम्ले मुहानलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीको धारामा क्षति पुगेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताए । रासस




प्रतिक्रिया