बिर्तामोडमा ‘इक्यान लिडर्स मिट ३.०’ हुँदै


बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो राष्ट्रिय नेतृत्व भेला ‘इक्यान लिडर्स मिट ३.०’ झापाको बिर्तामोडमा आयोजना हुने भएको छ। इक्यान झापा शाखाको आतिथ्यमा आगामी असोज २ देखि ४ गतेसम्म कार्यक्रम सञ्चालन गरिनेछ।

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत सुशासन सुदृढीकरण र बदलिँदो शैक्षिक परिवेशमा इक्यानको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

इक्यान झापा शाखाले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै शाखा अध्यक्ष राजकुमार कार्कीले देशभरका इक्यान नेतृत्वलाई एउटै मञ्चमा ल्याएर अनुभव, चुनौती र सफल अभ्यास आदानप्रदान गर्ने उद्देश्य रहेको बताए।

उनका अनुसार ‘लिडर्स मिट’को पहिलो संस्करण इक्यान चितवन र दोस्रो संस्करण मकवानपुर शाखाको आतिथ्यमा सम्पन्न भएको थियो। त्यसैको निरन्तरताका रूपमा तेस्रो संस्करण आयोजना गर्ने जिम्मेवारी झापा शाखाले पाएको हो।

कार्यक्रममा इक्यान केन्द्र, विभिन्न शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित देशभरबाट करिब १५० जना प्रतिनिधि सहभागी हुनेछन्। तीन दिनसम्म चल्ने कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, प्रभावकारी सञ्चार, वित्तीय व्यवस्थापन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका पछिल्ला विषयमा प्रशिक्षण र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।

पछिल्लो समय नेपालबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या, गन्तव्य मुलुकको छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्य, विद्यार्थी मोबिलिटी, डिजिटल प्रविधि तथा विभिन्न देशका शिक्षा र अध्यागमन नीतिमा आएको परिवर्तनले शैक्षिक परामर्श क्षेत्र थप चुनौतीपूर्ण बन्दै गएको इक्यानको भनाइ छ।

इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्कीका अनुसार हाल संघमा ७५० भन्दा बढी सदस्य संस्था आबद्ध छन्। काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका अनुभव र अवसरलाई प्रदेश तथा जिल्लास्तरसम्म जोड्दै विकेन्द्रीकृत रूपमा संस्थागत नेतृत्व विकास गर्ने नीति इक्यानले अघि सारेको उनले बताए।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ‘ग्लोबल एजुकेशन मोबिलिटी’मा नेपालको भूमिका र अवस्थाबारे पनि विशेष छलफल गरिनेछ। छलफलबाट आएका निष्कर्षलाई समेटेर ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी गरिएको इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले जानकारी दिए।

घोषणापत्रमा ग्लोबल एजुकेशन मोबिलिटीमा नेपालको वर्तमान अवस्था, सम्भावना र चुनौतीसँगै राष्ट्रिय हित र आगामी कार्यदिशाबारे इक्यानको संस्थागत धारणा समेटिनेछ। विद्यार्थी हित संरक्षण, नैतिक व्यवसायिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा नीति निर्माणमा सहभागितालाई समेत घोषणापत्रले प्राथमिकता दिने आयोजकले जनाएको छ।

इक्यान झापा शाखाका उपाध्यक्ष अशोक भण्डारीले लिडर्स मिटले केन्द्र र शाखाबीचको समन्वय तथा सञ्चारलाई अझ मजबुत बनाउँदै संघलाई साझा रणनीतिक दिशामा अघि बढाउन सहयोग पुग्ने बताए। कार्यक्रममा सहभागी नेतृत्वले आ–आफ्ना क्षेत्रमा देखिएका समस्या, अनुभव र सफल अभ्यासबारे समेत छलफल गर्नेछन्।

इक्यान झापा शाखाका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा इक्यान केन्द्रीय द्वितीय सचिव आशिक कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन शाखा उपाध्यक्ष अशोक भण्डारीले गरेका थिए।