काठमाडौँ । सरकारले फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ विधेयक संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार फोहोर उत्पादनदेखि सुरक्षित रूपमा अन्तिम व्यवस्थापन गर्ने चरणसम्मका सबै पक्षलाई समेटेर विधेयक तयार गरिएको हो ।
प्रस्तावित कानुनी व्यवस्थामा फोहोर उत्पादन कम गर्ने उपायदेखि स्रोतमै वर्गीकरण, सङ्कलन र स्थानान्तरण केन्द्रसम्मको ढुवानीलाई समेटिएको छ । त्यसपछि प्रशोधन केन्द्रमा फोहोरको पुनःप्रयोग तथा पुनःप्रशोधन गर्ने र त्यसबाट मल, ग्यास वा ऊर्जा उत्पादन गर्नेसम्मका विषयलाई विधेयकमा समावेश गरिएको मन्त्री गौतमले जानकारी दिएकी छन् ।
फोहोरबाट उपयोगी वस्तु तथा ऊर्जा उत्पादनपछि बाँकी रहने फोहोरलाई सुरक्षित रूपमा अन्तिम विसर्जन गर्ने व्यवस्थासमेत प्रस्ताव गरिएको छ ।
मन्त्री गौतमले आधुनिक फोहोर व्यवस्थापनका अवधारणालाई समेत विधेयकमा कानुनी आधार दिन खोजिएको बताएकी छन् । उनका अनुसार शून्य फोहोर, चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारीजस्ता अवधारणा पनि प्रस्तावित विधेयकमा समेटिएका छन् ।
‘फोहोर उठाउनु मात्र समाधान होइन,’ उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापनसम्मको सम्पूर्ण चक्र व्यवस्थित गरिएको छ ।’
नेपाल प्राकृतिक रूपमा सुन्दर भए पनि सडक, नदी, बस्ती र सार्वजनिक स्थानमा बढिरहेको फोहोरले वातावरणीय अवस्था, प्राकृतिक सौन्दर्य तथा जनस्वास्थ्यमा चुनौती थपिरहेको मन्त्री गौतमको भनाइ छ ।




प्रतिक्रिया