नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ: दरबारमार्गमा विशेष महोत्सव गरिंदै


काठमाडौँ ।  नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। नेपाली तथा जापानी संगीत, कला, संस्कृति, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने गरी आगामी मंसिर ६ गते अर्थात् नोभेम्बर २२ मा दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६, संस्कृति मार्फत ऐक्यबद्धता’ आयोजना गर्न लागिएको हो।

‘नेपाल–जापान महोत्सव २०२६ कार्यकारी समिति’को आयोजनामा हुने महोत्सवले दुई देशबीचको सात दशक लामो सम्बन्धलाई जनस्तरमा थप विस्तार गर्दै मित्रता, सद्भाव र ऐक्यबद्धता प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

महोत्सवको प्रमुख आकर्षण जापानको चर्चित सांगीतिक ब्यान्ड ‘गोडाइगो’को विशेष प्रस्तुति रहनेछ। आयोजकका अनुसार गोडाइगोले सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा कन्सर्ट गरेको थियो। त्यसको चार दशकभन्दा बढी समयपछि ब्यान्ड पुनः नेपाल आउन लागेको हो। आयोजकले यसलाई नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धको प्रतीकात्मक पुनर्मिलनका रूपमा लिएको छ।

महोत्सवमा जापानी कलाकारसँगै नेपालका चर्चित कलाकारको समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। दुवै देशको प्रतिनिधित्व हुने गरी संस्कृति, पर्यटन तथा व्यापारसँग सम्बन्धित विभिन्न प्रदर्शनीसमेत राखिने आयोजकको तयारी छ।

कार्यक्रमलाई सांस्कृतिक आदानप्रदानमा मात्र सीमित नराखी नेपालको पर्यटन प्रवर्द्धनसँग समेत जोड्ने योजना छ। महोत्सवमार्फत जापानी समुदाय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र पर्यटकीय पहिचान प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगलाई समेत महोत्सवसँग जोडिएको छ। आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक खर्च कटाएपछि बचत हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ।

नेपाल–जापानबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षलाई सांस्कृतिक उत्सवसँगै विपद् प्रभावितप्रतिको ऐक्यबद्धतामा रूपान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। पर्यटन प्रवर्द्धन, दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार तथा नेपालको अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धनमा समेत कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।