बागलुङ, ३१ भदौ । खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्याइएको छ ।
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
गोर्खा वेल्फेयर ट्रष्टको रु ५८ लाख ५० हजार र स्थानीय उपभोक्ताको रु नौ लाख ७६ हजार गरी रु ६८ लाख २६ हजारको लागतमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत खानेपानी आयोजना निर्माण गरिएको हो ।
जिल्लाकै पहिलो घरबास गाउँका रूपमा परिचित त्यस गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीयवासी खुसी छन् । आयोजनाको मर्मतसम्भार कोषमा नगरपालिकाले रु दुई लाख र स्थानीय उपभोक्ताले रु ८३ हजार जम्मा गरेको उपप्रमुख खड्काले बताए ।
गोर्खा वेल्फेयर ट्रष्टका प्रतिनिधि लीला पुन शेरचनले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय गाउँमा लामो समयदेखिको खानेपानी समस्या अब समाधान भएको बताए ।
उपभोक्ता चन्द्रमती थापाले घरमै धारा आएपछि दैनिक जीवन सहज भएको बताए । उनले हिउँद र वर्षा दुवै समयमा शुद्ध खानेपानीको व्यवस्था भएकाले धाराको पानी सिधैँ पिउन सकिने बताए ।
आयोजनाअन्तर्गत तीनवटा इन्टेक, एक कलेक्सन च्याम्बर, एक डेलिभरी ट्याङ्की, एक पम्प हाउस, एक रिजर्भ ट्याङ्की, चार जडसन च्याम्बर र पाँचवटा तारबार निर्माण गरिएको छ ।
आयोजनामा दुई हजार ५८५ मिटर पाइप लाइन बिछ्याइएको उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ । पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई एकीकृत गरी आयोजना निर्माण गर्न गत वर्ष गोर्खा वेल्फेयर ट्रष्टसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना सम्पन्न भएपछि घरघरमा धारा पुगेको उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले जानकारी दिए ।




प्रतिक्रिया