रसुवामा राष्ट्रिय जेन्जी नागरिक अभियानको राहत तथा सहयोग निरन्तर


रसुवा । भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राष्ट्रिय जेन्जी नागरिक अभियानले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिएको छ।


बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा खाद्यान्न वितरण गर्दै अभियानमा आबद्ध युवाहरूको टोली एक सातादेखि निरन्तर मैदानमा खटिएको हो। अभियानको टोली रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रसम्म पुगेर प्रभावित नागरिकको अवस्था अवलोकन गर्नुका साथै आवश्यक सहयोगसमेत गरेको छ।


बाढीका कारण क्षतिग्रस्त सडक तथा बाटोका कारण स्थानीयको आवतजावत प्रभावित भएपछि अभियानमा खटिएको टोलीले बाटो निर्माण तथा आवतजावत सहज बनाउन सहयोग गरेको छ। टोलीले चिलिमे हाइड्रोपावर क्षेत्र हुँदै सुरुङ आसपाससम्म पुग्ने बाटो निर्माणमा समेत सहयोग गरेको थियो।


अभियानका क्रममा प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्दा बाढीबाट प्रभावित नागरिकको अवस्था निकै कठिन र पीडादायी रहेकोअभियानले जनाएको छ। घर, सडक तथा भौतिक संरचनामा क्षति पुगेका कारण स्थानीय नागरिकलाई दैनिक जीवनयापनमा समेत समस्या भइरहेको बताइएको छ।


विपत्तिको कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको राष्ट्रिय जेन्जी नागरिक अभियानले जनाएको छ।


राहत तथा सहयोग अभियानमा राष्ट्रिय जेन्जी नागरिक अभियानका सुनील विक, केपी सिंह, सुनील सिंह, अजय सेडारी, गणेश बिक, प्रदीप भट्टराई, प्रकाश बम, सफल घिमिरेलगायत सक्रिय रूपमा सहभागी छन्।