काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी साता संयुक्त राज्य अमेरिका जाने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा आफू सहितको नेपाली टोली महासभामा सहभागी हुनेछ।
मन्त्री खनालले संयुक्त राष्ट्रसंघको महासभा आगामी सातादेखि सुरु हुने जानकारी दिँदै उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपालका राष्ट्रिय हित र प्राथमिकतासँगै अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व विषयमा नेपालको धारणा प्रस्तुत गरिने बताए।
बैठकमा मन्त्री खनालले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ ।’
समितिको बैठकमा संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका साथै जलवायु परिवर्तनका विषयमा विज्ञहरूसँग समेत छलफल भएको थियो। विज्ञहरूले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
महासभामा नेपालले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको भूमिका लगायतका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा पनि छलफल भएको छ।
मन्त्री खनालले महासभामा नेपालको सहभागितालाई देशका कूटनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा राख्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन्।




प्रतिक्रिया