एजेन्सी । गाजा सिटीमा बुधवार एउटा आवासीय भवन भत्किँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।
नागरिक सुरक्षा सेवाका प्रवक्ता महमुद बसालका अनुसार मृतकमध्ये ८ जना बालबालिका र ६ जना महिला रहेका छन् । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् भने करिब १०० जनाको अवस्था अझै अज्ञात रहेको उनले बताएका छन् ।
बसालका अनुसार छ तले उक्त भवन यसअघि इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको थियो । भवनमा करिब १०० जना बसोबास गर्दै आएका थिए भने आसपासको क्षेत्रमा दर्जनौँ पालसमेत रहेका थिए ।
गाजा पट्टीभरि अझै करिब २ हजार वटा जीर्ण आवासीय भवनमा मानिसहरू बसिरहेको बताउँदै बसालले थप भवन भत्किने जोखिम रहेको बताएका छन् ।
नागरिक सुरक्षा टोलीले भग्नावशेषबाट पीडितहरूको उद्धार तथा जीवित व्यक्तिको खोजी जारी राखेको छ । तर गाजामा भारी उद्धार उपकरण प्रवेश गर्न इजरायली अधिकारीहरूले अनुमति नदिएको बसालले बताएका छन् ।
भवन भत्किएको घटनाका लागि हमासले इजरायललाई जिम्मेवार ठहराएको छ । एक विज्ञप्ति जारी गर्दै हमासले भग्नावशेष हटाउने मेसिन तथा उद्धार उपकरणको गम्भीर अभावले अवस्था थप जटिल बनेको जनाएको छ ।
हमासले गाजामा भारी मेसिन तथा नागरिक सुरक्षा उपकरण तत्काल प्रवेश गर्न अनुमति दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
उद्धार उपकरणको प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउन मध्यस्थकर्ताहरू, अमेरिकी प्रशासन तथा सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूले पहल गर्नुपर्ने मागसमेत हमासले गरेको छ ।
भवन भत्किएको घटनाबारे विभिन्न पक्षबाट फरक दाबी आएका छन् । उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने जनाइएको छ ।




प्रतिक्रिया