काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले बाढी तथा पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण र नागरिकको समस्याप्रति सरकारले पर्याप्त ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थपलियाले धादिङलगायत बाढी प्रभावित जिल्लामा पुनर्निर्माणको काममा भइरहेको ढिलाइले नागरिक थप समस्यामा परेको बताइन्।
भोटेकोशीको बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि अस्थायी बेलिब्रिज निर्माणतर्फ सरकारले आवश्यक पहल नगरेको उनको बताइन् ।
उनले भनिन्, ‘मैले बारम्बार यस सदनमार्फत ध्यानाकर्षण गराउँदा पनि सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ।’ धादिङका नागरिकले आफूहरू राज्यको प्राथमिकतामा छन् कि छैनन् भन्ने प्रश्न गर्न थालेको उल्लेख गर्दै उनले थप प्रश्न गरिन्, ‘के नेपालको नक्साबाट धादिङ जिल्ला हटेको हो ?’
सांसद थपलियाले धादिङ, रसुवा र नुवाकोटका बाढी प्रभावित व्यवसायी तथा नागरिकलाई राहत दिन बैंक ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नहुन्जेलसम्मका लागि मिनाहा गर्न सरकारसँग माग गरिन्।
यस्तै, कृष्णभीरको पहिरोको दीर्घकालीन समाधानका लागि मलेखु–ताल्ती हुँदै भण्डारा जोडिने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
बैठकमा उनले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको घटनासमेत उठाइन्। उक्त घटनालाई लिएर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग जवाफ माग्दै उनले भनिन्, ‘मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसकै छोरी–बुहारीको अवस्था यही हो त ? अस्पतालले उपचारअघि पैसा खोज्ने कि उपचार ? यसको जवाफ म प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग चाहन्छु।’




प्रतिक्रिया