देउवालाई छाडेर आएका नेताहरुलाई गगन थापाको सम्बोधन- ‘कांग्रेस दाइभाइवाला पार्टी हो’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने भन्दै बोल्दैगर्दा भएका तिखा टिप्पणीलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले राजनीतिक बहस र छलफलका क्रममा एकअर्काप्रति गरिएका टिप्पणीलाई सामान्य रूपमा लिनुपर्ने बताएका हुन्।

उनले आफूले पनि कहिलेकाहीँ कसैप्रति तिखो टिप्पणी गरेको हुनसक्ने र अरू नेताले पनि आफूलाई लक्षित गरेर त्यस्ता टिप्पणी गरेको हुनसक्ने उल्लेख गरे।

थापाले भने, ‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेको छैनौँ।’

कांग्रेसलाई उनले पारिवारिक सम्बन्ध भएको पार्टीका रूपमा व्याख्या गर्दै आन्तरिक मतभेदलाई संवाद र सौहार्दपूर्ण छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिए।

‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भने, ‘मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो।’