काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अधिवेशन छुट्टाछुट्टै रूपमा गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूलाई पनि एउटै प्रक्रियामा समेटेर अधिवेशन अघि बढाउनुपर्ने बताएका हुन् ।
थापाले पार्टीभित्र अलग–अलग अधिवेशन वा अन्य कुनै छुट्टै प्रक्रिया अघि बढाउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, “यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कारण छैन। वा छुट्टै अरू केही गर्नुपर्ने अवस्था पनि छैन र कारण पनि छैन।”
पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफूले आवश्यक लचकता अपनाउने प्रतिबद्धता पनि उनले जनाए। नेतृत्वमा आफू रहेकाले आवश्यक विषयहरू समेट्दै सबैलाई मिलाएर अघि बढाउने उनको भनाइ थियो।
“केमा लचकता राख्नुपर्ने हो, मैले कसरी लिएर जानुपर्ने हो मैले गर्छु र मिलाएर लिएर जान्छु,” थापाले भने।




प्रतिक्रिया