काठमाडौं, २ असोज । विश्व बैंक समूहले विकासोन्मुख राष्ट्रहरूको आर्थिक वृद्धिलाई गति दिन चालू आर्थिक वर्ष २०२६ मा कीर्तिमानी ११२ अर्ब अमेरिकी डलर निजी पुँजी परिचालन गरेको छ । यो रकम बैंकको इतिहासमै एकै वर्षमा जुटाइएको अहिलेसम्मकै उच्च लगानी हो । आफ्नै आन्तरिक स्रोत र थप वित्तीय सहयोगसमेत जोड्दा यो वर्ष विकासोन्मुख देशहरूमा विश्व बैंकको कुल लगानी २०० अर्ब डलर नाघेको छ ।
चार वर्षअघि (आर्थिक वर्ष २०२२ मा) जम्मा ३५ अर्ब डलर रहेको यस्तो पुँजी परिचालन छोटो समयमै तीन गुणाभन्दा बढीले वृद्धि भएको हो । बैंकको तथ्यांकअनुसार, यस अवधिमा निम्न–मध्यम आय भएका मुलुकमा १४ अर्बबाट बढेर ३७ अर्ब डलर र उच्च–मध्यम आय भएका मुलुकमा १२ अर्बबाट ५० अर्ब डलर निजी लगानी पुगेको छ । अफ्रिकी महादेशमा पनि दोब्बरभन्दा बढी अर्थात् २२ अर्ब डलर पुँजी परिचालन हुँदा निम्न आय भएका गरिब मुलुकहरूमा भने लगानी अझै ३ अर्ब डलरकै वरिपरि खुम्चिएको छ ।
पछिल्लो समय विश्व बैंकले निजी क्षेत्रसँगको सहकार्य प्रणालीलाई छिटो, सरल र परिणाममुखी बनाएका कारण लगानीमा यस्तो उछाल आएको हो । लगानीकर्तालाई प्रोत्साहित गर्न र जोखिम कम गर्न बैंकले यस वर्ष २५ अर्ब डलरभन्दा बढीको ग्यारेन्टी जारी गरेको छ । रोचक कुरा त के छ भने, सन् २०३० सम्ममा वार्षिक २० अर्ब डलर ग्यारेन्टी जारी गर्ने बैंकको लक्ष्य चार वर्षअगावै पूरा भएको छ । यसले लगानीकर्तालाई विदेशी विनिमयको जोखिमबाट सुरक्षा दिनुका साथै संस्थागत लगानी बढाउन सहज वातावरण बनाएको छ ।
पुँजी परिचालन हुनु मात्रै पर्याप्त नभई यसले पर्याप्त रोजगारी सिर्जना गर्नु मुख्य उपलब्धि हुने विश्व बैंकका अध्यक्ष अजय बांगाको जोड छ । आगामी १० देखि १५ वर्षभित्र विकासोन्मुख देशका १ अर्ब २० करोड युवा श्रम बजारमा प्रवेश गर्ने तर ४२ करोड मात्रै नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपणले ठूलो चुनौती खडा गरेको छ । रोजगारीका ९० प्रतिशत अवसर निजी क्षेत्रले नै सिर्जना गर्ने भएकाले बैंकले कुल लगानीको ५५ प्रतिशत हिस्सा ऊर्जा, पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन र उत्पादनमूलक उद्योगमा केन्द्रित गरेको छ । दीर्घकालीन लगानीकर्तालाई आकर्षित गर्न बैंकले अब ‘ओरिजिनेट टु डिस्ट्रिब्युट’ मोडललाई अघि बढाउने रणनीति लिएको छ ।




प्रतिक्रिया