अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ


काठमाडौं, २ असोज । कागेश्‍वरी मनोहरा नगरपालिका-४ सिम्खडा गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय पबन भण्डारी र सोही नगरपालिका-५ थली बस्ने २५ वर्षीय सुरज लामा रहेका छ्न् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-७ बोकतोबारी बस्ने २४ वर्षीय प्रकाश सहनी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८६ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ चारपानेबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय मन कुमार राई र उनकै श्रीमती २६ वर्षीया रेखा थापा रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ३७ वर्षीय मनिष अधिकारी समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३० हजार ६ सय ८० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय बिजय तोलाङ्गेलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-४ बस्ने संजिव देवकोटाको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार संजिवको खोजी गरिरहेको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ थसिटोल डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-११ घर भएका ५५ वर्षीय शक्ति घिमिरेलाई अवैध लागूऔषध गाँजा ३ सय ८६ ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय उज्वल महर्जन समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-५ बलहा बस्ने ६८ वर्षीय अर्जुन चौधरी समेत २ जनालाई अवैध लागूऔषध गाँजा ९ सय ४० ग्राम र नगद ३४ हजार २ सय १५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सखुवा गाछीबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९८ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय नरेश महरा र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय क्षितिज परियार रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले कन्हवा बोर्डरबाट सम्सीतर्फ आउँदै गरेको ज.१० प ८६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७६ ट्याब्लेट र नाइट्राजेपाम ४२ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला हिमा गाउँपालिका-६ बस्ने २२ वर्षीय मुस्कान अधिकारी र सोही गाउँपालिका-७ बस्ने २० वर्षीय रमेश शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज १०६१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २० वर्षीय सुमित मल्ल समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुमितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धादिङ, थाक्रे गाउँपालिका-६ देउडी बस्ने सोही गाउँपालिका-३ मल्डुङ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र गाँजा जस्तो देखिने पदार्थ १ सय ६५ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।