संविधान सर्वोत्कृष्ट छ, तर सत्तामा पुग्नेहरूले आफूअनुकूल व्याख्या गरे’ – धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सत्ताको नेतृत्व गर्नेहरूबाटै संविधानको मर्म र भावनामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् ।

संविधान दिवसको सन्दर्भ पारेर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले २०७२ सालको संविधान सर्वोत्कृष्ट भए पनि शासकहरूले पटक-पटक संविधानको मर्म र भावनामाथि प्रहार गरेको दाबी गरे ।

संविधानले प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने परिकल्पना नगरेको भए पनि राजनीतिक खिचातानीका कारण खिलराज रेग्मी र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको दृष्टान्त पेस गर्दै धमलाले विभिन्न सरकारका पालामा संविधान मिचिएको उदाहरणहरु प्रस्तुत गरे । संविधानको समयानुकूल परिमार्जनमा जोड दिँदै उनले बालेन शाह नेतृत्वको सरकारले असीम शाहको संयोजकत्वमा गठन गरेको कार्यदलले दिएका संशोधनका सुझावहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष धमलाले गतवर्ष भएको जेनजी आन्दोलनको राजनीतिक अवतरणमा आफ्नो भूमिका रहेको दाबीसमेत गरे । विगतका २०४६ र २०६२–६३ सालका आन्दोलनले पुराना संविधान फालेको तर  जेनजी पुस्ताको आन्दोलनले वर्तमान संविधानको रक्षा गर्दै सुधारको बाटो रोजेको उनको विश्लेषण छ ।

‘गत साल जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ र २५ गते अहिलेका गृहमन्त्री सुधन गुरुङलगायतका नेताहरू आएर मलाई यो संविधान फाल्ने कि राख्ने भनेर सोध्नुभएको थियो,’ धमलाले दाबी गर्दै भने, ‘मैले संविधानभित्रैबाट भ्रष्टाचार अन्त्य, विधिको शासन र सुशासन कायम गर्दै जेनजीका माग पूरा गर्नुपर्छ भन्ने अडान राखेँ । त्यसपछि उहाँहरू ‘कन्भिन्स‘ हुनुभयो र प्रधानसेनापतिसहितको वार्तापछि सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बन्यो ।’

संविधानलाई बचाएर अघि बढे पनि यसका विद्यमान त्रुटिहरू सच्याउन संशोधन आजको अपरिहार्य आवश्यकता भएको धमलाको ठहर छ । प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार नदिइएको भन्दै उनले केन्द्रले अधिकार मुठ्ठीमा राखेको गुनासो गरे ।

‘संविधान संशोधनमार्फत मधेसी, महिला, मुस्लिम र दलितलगायत सीमान्तकृत समुदायको अधिकारलाई थप स्थापित गर्नुपर्छ,’ उनले भने ।

तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्ने बेला ‘संविधान जारी गर्नुपर्ने आवश्यकता भए पनि आफ्नो मन खुसी नभएको’ भनी व्यक्त गरेको असन्तुष्टिको स्मरण गर्दै धमलाले संविधान दिवस मनाइरहँदा संशोधनको स्पष्ट मार्गचित्रमा दलहरू गम्भीर हुनुपर्ने बताए ।

संविधानसभाबाट निर्मित संविधान आफैंमा उत्कृष्ट भए पनि सत्तामा पुग्नेहरूले आफूअनुकूल व्याख्या गर्दा अहिलेको राजनीतिक र संवैधानिक जटिलता पैदा भएको धमलाको निष्कर्ष छ ।