काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अधिवक्ता यज्ञमणि न्यौपानेले आफ्नो दललाई ‘रचनात्मक सत्तापक्ष’का रूपमा चित्रण गरेका छन् । संसद्मा सरकार र मन्त्रीहरूलाई प्रश्न सोध्दैमा रास्वपा प्रतिपक्ष नहुने दाबी गर्दै उनले लोकतन्त्रमा प्रश्न गर्ने अधिकार संविधानले नै प्रत्याभूत गरेको तर्क गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद न्यौपानेले रास्वपाको वर्तमान राजनीतिक अवस्थिति, संविधान कार्यान्वयनप्रतिको दृष्टिकोण, ट्रेड युनियन तथा सञ्चार जगत्सँगको सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गरे ।
संविधान निर्माणका बेला पुराना दलका नेताहरू तिकडमबाजीमा लागेको आरोप लगाउँदै न्यौपानेले रास्वपा नै संविधानको असली सरोकारवाला (स्टेक-होल्डर) भएको दाबी गरे । हिजो सडक, नागरिक समाज, सञ्चारमाध्यम र विभिन्न ढंगले गरिएका खबरदारीका कारण मात्रै संविधान बनेको भन्दै उनले भने, “हिजो पुराना दलहरुलाई संविधान नबनाए सदनबाट बाहिर निस्कन दिँदैनौँ भनेर दबाब दिनेहरू नै आज रास्वपामा छन् ।”
पुराना दलहरूबाट संविधान मिच्ने काम भएको आरोप लगाउँदै उनले संविधानको पूर्ण कार्यान्वयनमार्फत जनताको घरदैलोमा अधिकार पुर्याउन रास्वपाको उदय भएको बताए । संविधान संशोधनको बहसबारे बोल्दै उनले मिडियामा प्रत्यक्ष प्रसारण गरेर कुन–कुन धारा वा उपधारा संशोधन गर्ने हो, साझा सहमतिमा टुंग्याउनुपर्ने प्रस्ताव गरे ।
“कांग्रेसलगायत पुराना दलहरू छलफलबाट भाग्नु हुँदैन । चित्त नबुझे ‘नोट अफ डिसेन्ट’ लेख्ने बाटो खुला छ,” उनले भने ।
रास्वपाको दुई तिहाइ बहुमत भए पनि संविधान संशोधनमा सबै दललाई सहभागी गराउन चाहेको उल्लेख गर्दै उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राखिने दाबी गरे ।
सरकारमा रास्वपा सहभागी भएको ५ महिना पूरा भएको सन्दर्भमा समीक्षा गर्दै न्यौपानेले जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको स्वीकार गरे । यद्यपि, ५ वर्षको कार्यकालभित्र जनतासँग गरिएका वाचा पूरा हुनेमा उनी विश्वस्त देखिन्थे ।
“हामीले बेइमानी गरे सकिन्छौँ,” उनले थपे, “सरकारका कुन–कुन मन्त्रीले के–के काम गरिरहेका छन्, त्यसको एक–एक हिसाब रास्वपाले राखिरहेको छ ।”
संसद्मा रास्वपाका सांसदहरू थप्पडी बजाउनका लागि मात्र नबस्ने स्पष्ट पार्दै उनले महँगी नियन्त्रण, बिजुली, ग्यास र स्वदेशमै रोजगारीजस्ता जनजीविकाका दैनिक प्रश्न उठाउनु रास्वपा सांसदहरुको दायित्व भएको बताए ।
पुराना नेताहरूको गलत नीतिका कारण देश विकल्पविहीन बनेपछि रास्वपाको उदय भएको दाबी गर्दै उनले ५ वर्षभित्र नतिजा दिने प्रतिबद्धता जनाए ।
साक्षात्कारका क्रममा सांसद न्यौपाने ट्रेड युनियन र विद्यार्थी संगठनहरूप्रति आक्रामक रूपमा प्रस्तुत भए । कुनै कालखण्डमा यी संगठनहरूको भूमिका रहे पनि वर्तमान समयमा यिनको औचित्य समाप्त भइसकेको उनको ठहर छ ।
कर्मचारी संगठनहरू सरुवा–बढुवा, मालदार ठाउँमा पुग्न र आन्दोलन गर्नका लागि मात्र सक्रिय रहेको आरोप लगाउँदै उनले ट्रेड युनियन र विद्यार्थी संगठनहरूको अब औचित्य नभएको जिकिर गरे ।
“कर्मचारीले काम गर्ने हो, विद्यार्थीले पढ्ने हो,” उनले भने । पुराना दलहरूले पनि वृद्ध नेताहरूलाई मात्र अघि नसारी युवा पुस्तालाई नेतृत्वमा ल्याएमा मात्र रास्वपासँग प्रतिस्पर्धा हुनसक्ने उनले टिप्पणी गरे ।
कार्यक्रममा अन्य विषयमा तार्किक देखिन खोजेका न्यौपाने प्रधानमन्त्री कार्यालयभित्र समाचार संकलन गर्न पत्रकारहरूलाई रोक लगाइएको विषयमा सोधिएको प्रश्नमा भने पन्छिन खोजे ।
प्रधानमन्त्री कार्यालयमा पत्रकारको प्रवेशमा लगाइएको अङ्कुशबारे सोधिएको प्रश्नको सीधा जवाफ नदिई उनले ‘प्रेस स्वतन्त्रतामाथि कसैले धावा बोल्न नहुने’ अमूर्त तर्क मात्र पेश गरे ।




प्रतिक्रिया