काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको विकास, समृद्धि र विपद् व्यवस्थापनमा सरकारसँग सच्चा साझेदार भएर काम गर्न चाहेको जनाएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित सात्क्षात्कार कार्यक्रममा बोल्दै एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले जलवायु परिवर्तन, वंशजको नागरिकताको निरन्तरता र लगानीमैत्री वातावरणका विषयमा सरकारसँग घनीभूत सहकार्यको अपेक्षा व्यक्त गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुअघि सरकारले भोटेकोशी बाढी र हिमाली क्षेत्रको प्रकोपबारे विज्ञहरूसँग परामर्श लिएको विश्वास गर्दै खड्काले विश्वमञ्चमा नेपालले आफ्ना एजेन्डा स्पष्टसँग राख्नुपर्नेमा जोड दिए ।
‘जलवायु परिवर्तन अहिले विश्वमञ्चको मुख्य छलफलको विषय बनेको छ । क्लाइमेट डिप्लोमेसी र क्लाइमेट जस्टिसका कुरा गर्दा कुनै देशलाई दोषारोपण गर्नुभन्दा विज्ञानको तथ्यमा आधारित भएर प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा आफ्ना भनाइ राख्नुपर्छ,’ खड्काले भने ।
नेपालमा सङ्कट परेका बेला २४ घण्टाभित्र उद्धार र राहतमा जुट्नु एनआरएनएको संस्कार रहेको भन्दै उनले भूकम्प, कोरोना महामारी र हालको भोटेकोशी बाढीका समयमा पनि गैरआवासीय नेपालीहरूले अग्रपंक्तिमा रहेर सहयोग गरेको स्मरण गराए । देशको विकास र नीति निर्माणमा डायस्पोराको भूमिकाबारे प्रधानमन्त्री शाहले आफूहरूसँग छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
नागरिकताको विषयमा बोल्दै महासचिव खड्काले वंशजको नागरिकताको निरन्तरताका लागि वर्तमान सरकारप्रति आफूहरू आशावादी रहेको बताए । ‘बालेन शाह नेतृत्वको रास्वपा सरकारले वंशजको नागरिकताको निरन्तरताको ग्यारेन्टी गर्छ भन्नेमा एनआरएनए ढुक्क छ । तर, पछिल्लो समय सरकार यो विषयबाट पछि हट्न खोजेको हो कि भन्ने आशङ्का पनि उब्जिएको छ,’ उनले थपे ।
गैरआवासीय नेपालीहरू रेमिट्यान्स पठाउने माध्यम मात्र नभएर नेपालको समृद्धिका सच्चा साझेदार बन्न चाहेको स्पष्ट पार्दै उनले लगानीका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
विश्वका ९० भन्दा बढी देशमा एनआरएनएको सञ्जाल फैलिएको जानकारी दिँदै खड्काले आफ्ना हक र अधिकारका लागि आन्दोलन गर्ने स्थिति सिर्जना नहोस् भन्ने चाहना व्यक्त गरे ।
वंशजको नागरिकताको निरन्तरता हुन सके देशमा लगानी अभिवृद्धि गर्न सहज हुने उनको भनाइ छ । यसका लागि लगानीमैत्री वातावरण बनाइदिन पनि सरकारसँग उनले माग गरेका छन् ।




प्रतिक्रिया