रसुवा, ७ असोज । ‘थ्रिफेज’ क्षमताको विद्युत् सेवाको अभावमा रसुवाको दक्षिणी भेगको जनजीवन प्रभावित भएको छ ।
भदौ १० गतेको बाढीपछि जिल्लाको विद्युत् संरचना ध्वस्त भएपछि तत्कालका लागि व्यवस्था गरिएको विद्युत्को क्षमता कमी भएसँगै स्थानीय जनता प्रभावित भएका हुन् ।
अहिले आपूर्ति भएको विद्युत्बाट घरमा बत्तीमात्र बाल्न मिल्ने तर कुटानी–पिसानी मिल नचल्ने भएको र गाउँघरमा प्रयोग हुने ढिकी, जाँतोजस्ता परम्परागत सामग्रीको प्रयोग हुन छाडेको अवस्थामा विशेषगरी कृषि पेसामा संलग्न स्थानीयलाई समस्या परेको उत्तरगया गाउँपालिका–५ का पूर्ववडाध्यक्ष ईश्वर थापाले बताए ।
उनका अनुसार आफ्नै घरमा धान, मकै भए पनि त्यसलाई कुटेर चामल बनाउन नसक्दा जिल्लाको दक्षिणी भेगका ग्रामीण बासिन्दा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । पूर्वअध्यक्ष थापाले भने, “बाढीप्रभावित जनतालाई प्राथमिकता दिँदै आएको वर्तमान सरकारबाट यथासक्य छिटो ‘थ्रिफेज’को विद्युत् व्यवस्था हुने विश्वास लिएका छौँ । स्थानीय मिल सञ्चालन भइदिए आफ्नै उत्पादनबाट भातभान्सा गर्नसकिन्थ्यो । सडक–पुल बगेसँगै अन्यत्र जान सकिने अवस्था छैन, मिल चल्नेगरी विद्युत् व्यवस्था भइदिए हुन्थ्यो ।”
भदौ १० गतेको बाढीले रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत जिल्लामा विद्युत् आपूर्ति गरेको थियो । आपत्कालीन व्यवस्थाअन्तर्गत सामान्य बत्ति बाल्ने र मोबाइल चार्ज गर्नेसम्मको सेवा सञ्चालन गर्न काठमाडौँको बालाजुदेखि छहरे, चोगदे, कुवापानी हुँदै रसुवासम्म विद्युत् आपूर्ति गरिएको थियो ।
यसैसन्दर्भमा नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन व्यवस्थालाई क्रमशः सुधार गर्दै नियमित विद्युत् सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् प्राधिकरण धुञ्चे शाखाका प्रमुख गुन्जमान लामाले थ्रिफेजको लाइन जडान गरिएको भए पनि ‘पावर’ कमी यथार्थलाई दृष्टिगत गरी साङ्जेनतर्फको लाइन तानेर विद्युत्को क्षमता बढाउने काम भइरहेको बताए । बिहान–बेलुका स्वभाविक रुपमा विद्युत्भार बढी हुने भएकाले दिउँसोको समयमा मात्र कुट्ने–पिस्ने काम गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दै उनले बाढीप्रभावितलाई राहत उपलब्ध गराउन सक्दो प्रयास भइरहेको स्पष्ट गरे ।
स्थानीयवासीका अनुसार राहत सामग्रीसँगै विद्युत् सेवा नियमित र पर्याप्त बनाउन सके प्रभावित परिवारको दैनिकी सहज हुनेछ । विशेषगरी थ्रिफेज विद्युत् सञ्चालनमा आए धान कुट्ने, पिठो पिस्ने तथा अन्य कुटानीपिसानीका काम स्थानीयस्तरमै गर्न सकिने भएकाले घरबार गुमाएकाबाहेकका परिवारको परनिर्भरता क्रमशः घट्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया