काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। तीनदिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका सीलाई ट्रम्पले ‘जोइन्ट बेस एन्ड्र्युज’ मा पुगेर औपचारिक स्वागत गरेका हुन्।
सीको भ्रमणका क्रममा अमेरिका र चीनबीच व्यापार, कृत्रिम बुद्धिमत्ता, सुरक्षा तथा ताइवानलगायत विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ। यो भ्रमणका क्रममा ट्रम्प र सीबीच तेस्रो प्रत्यक्ष भेटवार्ता हुँदैछ।
सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प धावनमार्गमै पुगेका थिए। स्वागतस्थलमा रातो कार्पेट बिछ्याइएको थियो। विमानबाट ओर्लिएपछि दुवै नेताले आफ्ना पत्नीको उपस्थितिमा एकअर्कासँग हात मिलाएका थिए।
चिनियाँ राष्ट्रपतिको स्वागतका क्रममा दुई बी–१ बमवर्षक विमानले आकाशमा फ्लाई–ओभरसमेत गरेका थिए। कार्यक्रममा अमेरिका र चीनका झन्डा प्रदर्शन गरिनुका साथै अमेरिकी वायुसेनाको ब्यान्डले दुवै मुलुकका राष्ट्रिय गान बजाएको थियो। औपचारिक कार्यक्रमपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ लागेका थिए।
विदेशी राष्ट्रप्रमुखलाई वासिङ्टन क्षेत्रकै विमानस्थलमा पुगेर अमेरिकी राष्ट्रपतिले स्वागत गर्ने प्रचलन पछिल्ला वर्षमा निकै दुर्लभ मानिन्छ। ऐतिहासिक अभिलेखअनुसार सन् १९६२ मा तत्कालीन राष्ट्रपति जोन एफ. केनेडीले एन्ड्रयुज एयर फोर्स बेसमा बेलायती प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलन र साउदी राजा साउदको स्वागत गरेका थिए।
यसकारण सीलाई विमानस्थलमै पुगेर ट्रम्पले गरेको स्वागतलाई पछिल्ला दशकको असामान्य राष्ट्रपतीय स्वागतका रूपमा हेरिएको छ।
ट्रम्प र सीबीच यसअघि मे महिनामा चीनमा भेट भएको थियो। त्यस अवसरमा सीले बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा ट्रम्पलाई तोपको सलामी तथा अमेरिकी राष्ट्रिय गानसहित औपचारिक स्वागत गरेका थिए। चीनले २०० वटा बोइङ विमान खरिद गर्ने र अमेरिकी कृषकलाई चिनियाँ बजारमा थप पहुँच दिने प्रतिबद्धता जनाए पनि उक्त शिखर वार्ताबाट अपेक्षाकृत ठोस परिणाम नआएको विश्लेषण गरिएको थियो।
‘ब्रुकिङ्स इन्स्टिच्युट’सँगको कुराकानीमा विश्लेषक प्याटी किमले समेत उक्त भ्रमणबाट ठोस प्रतिबद्धता हासिल गर्ने दृष्टिले परिणाम कमजोर रहेको बताएकी थिइन्। उनका अनुसार वार्ताअघि ताइवानसम्बन्धी अमेरिकी नीतिमा ट्रम्पले परिवर्तन गर्न सक्ने विषयलाई लिएर चिनियाँ पक्षमा विशेष चासो थियो। तर त्यस्तो नीति परिवर्तन भएन। यद्यपि, सम्मेलनपछि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा ताइवानलाई चीनबाट औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका थिए।
यसैबीच, ट्रम्पले सीको खुलेर प्रशंसा गरेका थिए। भ्रमणपछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले सीलाई ‘अद्भुत व्यक्ति’ भन्दै अमेरिका–चीन सम्बन्ध राम्रो रहेको र व्यापारसम्बन्धी धेरै सम्झौता भएको बताएका थिए।
उता, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका–चीनबीच जारी व्यापारिक युद्धविरामलाई जनवरी १० सम्म लम्ब्याउने सहमति भएको बताएका छन्। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै बेसेन्टले नोभेम्बर १० मा समाप्त हुने भनिएको ‘बुसान सम्झौता’ थप दुई महिना लम्ब्याउने सहमति भएको जानकारी दिएका हुन्।
उनका अनुसार दुई देशबीच अझ व्यापक व्यापार सम्झौताको सम्भावनाबारे समेत छलफल भएको छ। यद्यपि, हालको सम्झौतालाई निरन्तरता दिने वा नयाँ सम्झौता गर्ने विषयमा अहिले नै निश्चित भइनसकेको उनको भनाइ छ।
यसअघि अक्टोबर २०२५ मा दक्षिण कोरियाको बुसानमा ट्रम्प र सीबीच भएको भेटवार्तापछि अमेरिका–चीन व्यापार तनाव कम गर्ने उद्देश्यले विभिन्न भन्सार शुल्क र व्यापारिक प्रतिबन्धमा एक वर्षका लागि छुट दिने सहमति भएको थियो। उक्त सहमतिको अवधि नोभेम्बर १० मा समाप्त हुने तय गरिएको थियो।




प्रतिक्रिया