नारायणी र दरमखोलामा सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह


काठमाडौँ । नारायणी नदी र दरमखोलामा जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शनिबार बिहान ६:५० बजे जारी गरेको सूचनाअनुसार चितवनको देवघाटस्थित नारायणी र बागलुङको वामीटक्सारस्थित दरमखोलाको जलमापन केन्द्रमा पानीको सतह निरन्तर बढिरहेको छ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम भएका आसपासका स्थानमा बसोबास गर्ने नागरिकलाई साँझसम्म विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाले आग्रह गरेको छ।