दमौली (तनहुँ), ३ मङ्सिर । तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ । व्यास नगरपालिका–४ मा स्थापना भएको कार्यालयले बुधबारदेखि सेवा सुरु गरेको हो ।
गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन स्थापना गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बुधबार कार्यालयको उद्घाटन गरे ।
डिभिजनको कार्यक्षेत्र तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहनेछ । कार्यालयले दुवै जिल्लामा वैकल्पिक सहायक मार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक र पुल निर्माण एवं स्तरोन्नतिको काम गर्ने कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिए ।
चालु आर्थिक वर्षमा कार्यालयमार्फत रु ५५ करोडका कार्यक्रम सञ्चालन हुनेछन् । यसमध्ये वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु २९ करोड, स्थानीयस्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाका लागि रु १७ करोड र सडक सुरक्षा तथा मर्मतसम्भार कार्यक्रमका लागि रु नौ करोड विनियोजन गरिएको छ ।
कार्यालयले पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन, गुणस्तर परीक्षण, ठेक्का प्रक्रिया, भुक्तानी, सुपरिवेक्षण तथा विवाद समाधानलगायतका काम गर्नेछ ।




प्रतिक्रिया