बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढी पस्दा १६५ घर प्रभावित भएका छन्।
सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा शुक्रबारदेखि बाढी पस्न थालेको थियो। बाढीका कारण थारु टोलका ७८ परिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो।
त्यसपछि सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।
नदीको पानीको सतह अझै बढिरहेकाले प्रभावित परिवारलाई नारायणी नदीको वारिपट्टि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको खातीले बताए। कच्ची घरमा बाढी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ।
शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। वडा सदस्य आदम खानका अनुसार नदीले धार परिवर्तन गरेर सुस्तातर्फ बग्न थालेपछि करिब १ लाख क्युसेक बहाव पुग्नेबित्तिकै बाढी बस्तीमा पस्ने गरेको छ।
नदीको सतह बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको खानले बताए। उनका अनुसार भारतीय पक्षले सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकेपछि बाँकी रहेको १३२ मिटर क्षेत्रमा नदीले कटान गर्दै बस्ती नजिक पुगेको हो। बाढीका कारण बस्तीका साथै उखु खेतीमा समेत क्षति पुगेको स्थानीयको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा रहेका परिवारलाई आवश्यक परे तत्काल उद्धार गर्न सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जानकारी दिए।




प्रतिक्रिया