ट्रम्पको भ्रमण कभरेज गर्न सीएनएनमाथि ह्वाइट हाउसको प्रतिबन्ध


काठमाडौं । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका पत्रकारलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी भ्रमणका क्रममा राष्ट्रपतीय विमान ‘एयर फोर्स वन’मा चढ्न नदिइएको सीएनएनले जनाएको छ ।

ट्रम्पसँगै टेनेसीको नोक्सभिल जाने कार्यक्रमका लागि सीएनएनलाई यस साताको अन्त्यको टेलिभिजन प्रेस पुलको प्रतिनिधि नेटवर्कका रूपमा चयन गरिएको थियो । ट्रम्प त्यहाँ कलेज फुटबल खेल हेर्न जाने कार्यक्रम छ ।

प्रेस पुलको प्रतिनिधि नेटवर्कले राष्ट्रपतिसँगै यात्रा गर्दा प्राप्त भिडियो तथा अन्य विवरण प्रेस पुलमा सहभागी अन्य प्रमुख टेलिभिजन नेटवर्कसँग साझा गर्ने जिम्मेवारी पाउँछ । तर, एसोसिएटेड प्रेसका अनुसार ह्वाइट हाउसले सीएनएनलाई हटाएर त्यसको स्थानमा दक्षिणपन्थी मिडिया ‘रियल अमेरिकाज भ्वाइस न्युज’लाई समावेश गरेको छ ।

यो घटना ट्रम्प प्रशासन र प्रशासनको पक्षमा समाचार प्रसारण नगरेको आरोप लगाइएका सञ्चारमाध्यमबीच बढ्दो विवादको पछिल्लो घटनाका रूपमा आएको हो ।

यसै साताको सुरुमा राष्ट्रपति ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोले ‘काल्पनिक र झुटा’ समाचार प्रसारण गरेको आरोप लगाउँदै ती सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

यस प्रतिबन्धको विरोधमा तथा सीएनएनलगायत सञ्चारमाध्यमप्रति ऐक्यबद्धता जनाउँदै डीडब्ल्यूलगायत केही प्रमुख टेलिभिजन नेटवर्कले राष्ट्रपतिको ‘पुल कभरेज’ बहिष्कार गरेका थिए ।

सञ्चारमाध्यमहरूले दायर गरेको मुद्दामाथि सुनुवाइ गर्दै बिहीबार एक संघीय न्यायाधीशले ह्वाइट हाउस प्रवेशमा लगाइएको उक्त प्रतिबन्धलाई अस्थायी रूपमा रोक्ने आदेश दिएका थिए । यद्यपि, आदेशले राष्ट्रपतीय भ्रमणका क्रममा सञ्चारमाध्यमलाई प्रेस पुलमा सहभागी गराउने वा हटाउने विषयमा भने प्रत्यक्ष रूपमा केही उल्लेख गरेको थिएन । डीडब्ल्यू