बाढीपहिरोले १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित


काठमाडौ । असोज ९ गतेदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् संरचनामा ठूलो क्षति पुगेको छ।

बाढीपहिरोका कारण कुश्मा–दाना, त्रिशूली, मर्स्याङ्दी, सेती–मादी, कालीगण्डकी र समुद्रटारलगायत क्षेत्रमा कुल १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण प्रसारण तथा उत्पादन संरचनामा क्षति पुगेपछि केही जलविद्युत आयोजना सञ्चालनमा आउन सकेका थिएनन्।

सडक अवरुद्ध हुँदा क्षतिग्रस्त संरचनाको निरीक्षण तथा मर्मतमा समेत कठिनाइ भएको प्राधिकरणले जनाएको छ। कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। उक्त क्षतिका कारण सातवटा जलविद्युत केन्द्रबाट उत्पादित करिब १९० मेगावाट विद्युत् प्रसारण प्रभावित भएको थियो।

त्यस्तै, प्राधिकरणको सहायक कम्पनीद्वारा प्रवर्द्धित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट, डक्ट र टर्बाइन फ्लोरमा पानी पसेको छ। आयोजनाको क्षतिग्रस्त संरचना मर्मत गरी पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणको अनुमान छ।

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बी २२० केभी हब तथा विभिन्न जलविद्युत आयोजनामा क्षति पुर्‍याएको थियो। उक्त घटनापछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो। प्राधिकरण तथा उसका सहायक कम्पनीका संरचनामा भएको क्षतिको प्रारम्भिक मूल्यांकन करिब ७४ अर्ब रुपैयाँ बराबर रहेको जनाइएको छ।

प्राधिकरणका अनुसार बाढीपहिरोबाट प्रभावित सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आइसकेका छन्। त्यस्तै, १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना सोमबार साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

वितरणतर्फ पनि वर्षा रोकिएसँगै विभिन्न जिल्लामा विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित भइरहेको छ। म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भइसकेको प्राधिकरणले जनाएको छ। मुस्ताङ, प्युठान र रोल्पामा सोमबार अपराह्नसम्म तथा मनाङमा मंगलबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको छ।

बाढीपहिरोका कारण विद्युत् संरचनामा क्षति पुगे पनि प्राधिकरणले आगामी हिउँदको सुक्खायामका लागि विद्युत् माग र आपूर्ति व्यवस्थापनको योजना तयार गरेको छ। प्राधिकरणका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ। थप १ हजार १५४ मेगावाट विद्युत् ढल्केवर–मुजफ्फरपुर, टनकपुर, बिहारका विभिन्न बिन्दु तथा आरटीसीमार्फत आयात गर्ने योजना छ।

यसअनुसार कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध गराउने प्राधिकरणको तयारी छ। आगामी सुक्खायाममा सम्भावित उच्च विद्युत् माग २ हजार २९२ मेगावाट रहने अनुमान गरिएको छ। प्राधिकरणले तयार गरेको योजनाअनुसार मागअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।