काँग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार


काठमाडौँ । नेपालमा राजनीतिक दलहरुको इतिहासमै पहिलो पटक नेपाली काँग्रेसको १५औ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।


पार्टीको नयाँ व्यवस्था अनुसार ३५ बर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदिय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदिय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दावी समेत गरेका छन् ।


नयाँ विधानमा हरेक वडाबाट ३५ बर्ष मुनिका एक महिलासहित कम्तीमा ती युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन् । तर हरेक वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जना सम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । त्यो अनुसार औसतमा ५ जना निर्वाचत हुन्छन भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ बर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् ।


त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ । नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन् । त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरुमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।
यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदिय जिम्मेवारी लिएका छन् ।


ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिश्पर्धीहरु रहेकाले काँग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले महाधिवेशनमा प्रतिश्पर्धा गरेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन् ।


तीनै क्षेत्रीय प्रतिनिधिहरुबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुदैछन् ।


त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।


नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन् ।


केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।
पार्टीमा यती ठूलो संख्यामा युवाहरुले पदिय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिश्पर्धी गरेकोले काँग्रेसको संगठनमा युवाको दवदवा ह्वत्तै वढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए । काँग्रेस अव पुरै युवामय पार्टी भइसकेको उनको भनाई छ ।