एक कार्यकाल वडा सचिवको जिम्मेवारी सम्हालेका नगरकोटी क्षेत्रीय कार्यसमिति सदस्यका उम्मेदवार


धादिङ । नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टी गतिविधिमा सक्रिय रहँदै आएका होमबहादुर नगरकोटी (सुरेश) ले नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।

नगरकोटीले यसअघि नेपाली कांग्रेसको वडा कार्यसमितिको सचिव पदमा एक कार्यकाल जिम्मेवारी सम्हाल्दै पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीयस्तरका विभिन्न पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

वडा तहको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि पार्टी संगठनमा आफ्नो अनुभवलाई थप फराकिलो बनाउँदै नगरकोटीले अब क्षेत्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्।

पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताबीच सहकार्य र समन्वय बढाउने तथा स्थानीय तहदेखि क्षेत्रीय तहसम्म पार्टीको संगठनलाई प्रभावकारी बनाउन आफ्नो अनुभव उपयोग गर्ने नगरकोटीको भनाइ छ।

पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग निरन्तर सहकार्य गर्दै संगठनको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।