सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन असोज २२ र २३ गते विराटनगरमा


काठमाडौ । संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्दै प्रदेशहरूका साझा एजेन्डा तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन विराटनगरमा हुने भएको छ।

कोसी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनका लागि आवश्यक नीतिगत तथा व्यवस्थापकीय तयारी तीव्र पारिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका साझा समस्या पहिचान गरी संघीय संरचनालाई थप प्रभावकारी र सुदृढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। उनका अनुसार सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौती, प्रदेशहरूले अपनाएका असल अभ्यास तथा अनुभव आदानप्रदानका विषयमा छलफल हुनेछ।

“सम्मेलनका क्रममा प्रदेशहरूबीच अन्तरप्रदेश व्यापार, उत्पादनको आदानप्रदान, प्राकृतिक स्रोतको सदुपयोग र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा ठोस समझदारी जुटाइनेछ,” मुख्यमन्त्री कार्कीले भने।

सम्मेलनको समग्र तयारी र नीतिगत समन्वयको जिम्मेवारी कोसी प्रदेश योजना आयोगलाई दिइएको छ। आयोगका उपाध्यक्ष तारानाथ निरौलाको अध्यक्षतामा गठित नीतिगत सिफारिस समितिले सम्मेलनका लागि कार्यपत्र, छलफलका विषय तथा साझा घोषणापत्रको मस्यौदा तयार गरिरहेको छ।

नीतिगत एजेन्डालाई अन्तिम रूप दिन असोज १४ गते सातै प्रदेशका योजना आयोगका उपाध्यक्षहरूको बैठक बस्ने तय भएको उपाध्यक्ष निरौलाले जानकारी दिए। निरौलाका अनुसार प्राकृतिक स्रोतसाधनको संयुक्त उपयोग, अन्तरप्रदेश हवाई सञ्जाल तथा फ्लाइट कनेक्टिभिटी, पर्यटन प्रवर्द्धन, उत्पादन आदानप्रदानलगायत १२ देखि १३ वटा प्रमुख विषयलाई छलफलका लागि प्रस्ताव गरिएको छ।

सम्मेलनलाई औपचारिक छलफलमा मात्र सीमित नराखी आगामी दिनमा प्रदेशहरूबीच नियमित संवाद, नीति निर्माण तथा साझा समस्या समाधानका लागि स्थायी फोरमका रूपमा संस्थागत गर्ने तयारीसमेत भइरहेको निरौलाले बताए।

असोज २२ गते उद्घाटन हुने सम्मेलनमा अन्तरप्रदेश असल अभ्यासका साथै संघीय तथा स्थानीय सरकारसँग गर्नुपर्ने नीतिगत र कानुनी समन्वयका विषयमा विस्तृत छलफल हुनेछ। सम्मेलनमा प्रदेशहरूबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गरी साझा धारणा निर्माण गर्ने तयारी गरिएको छ।पर्यटन प्रवर्द्धनलाई समेत सम्मेलनको एक महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ। सहभागी

मुख्यमन्त्री तथा विशिष्ट पाहुनालाई विराटनगर आसपासका पर्यटकीय स्थलको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको आयोजकले जनाएको छ।