चोलेन्द्रलाई पक्राउ गरेर बालेनले रवि लामिछानेलाई पनि सांकेतिक थ्रेट दिए : अमरेश सिंह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएर प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपा सभापति रवि लामिछानेलाई समेत सांकेतिक रूपमा ‘थ्रेट’ दिएको आरोप लगाएका छन्।


प्राइम टेलिभिजन एचडीको ‘जनता जान चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको अन्तर्वार्तामा सिंहले यस्तो आरोप लगाएका हुन्।


उनले आफू र रास्वपा सभापति लामिछानेमाथि समेत सांकेतिक रूपमा थ्रेट दिइएको टिप्पणी गरे।


पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले आइतबार बिहान राति करिब ३ बजे महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। करिब १२ घण्टापछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।

प्रहरीले जबरालाई पक्राउ नभई सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा लगिएको बताइएकाे छ। यद्यपि सुरक्षा जोखिम के थियो र कसबाट थियो भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।


जबरालाई ‘जेन्जीबाट सुरक्षा थ्रेट’ रहेको भनिएको विषयमा जेन्जी अभियन्ताहरूले समेत आपत्ति जनाउँदै त्यसको आधार र प्रमाण सार्वजनिक गर्न सरकार तथा प्रहरीसँग माग गरेका छन्। यसैबीच सांसद सिंहले जबराको पक्राउ र रिहाइको घटनालाई आफू र रास्वपा सभापति रवि लामिछानेमाथि दिइएको सांकेतिक थ्रेटसँग जोडेर टिप्पणी गरेका हुन्।