कांग्रेसभित्र भाँडभैलो : गगन–देउवा टकरावले कार्यकर्तामा बढायो निराशा


काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको विवाद थप गहिरिँदै जाँदा पार्टीका तल्लो तहका नेता–कार्यकर्ता निराश देखिन थालेका छन्।

१५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा र पूर्वसभापति शेर बहादुर देउवा पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ । देउवा पक्षले छुट्टै अधिवेशनको तयारी अघि बढाइरहेको छ भने थापा नेतृत्वको पक्षले आफ्नै कार्यतालिकाअनुसार अधिवेशन गरिरहेको छ ।

संस्थापन पक्षले गत असोज ३ देखि देशैभरका वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने इतरसमुहको वडाअधिवेशन असोज १५ देखि सुरु हुँदैछ ।

दुवै पक्षबीच संवाद र सहमति हुन नसक्दा पार्टी विभाजनतर्फ अघि बढीरहेको राजनीतिक विश्लेषकहरुको ठम्याइ छ । नेता शेखर कोइराला र पूर्णबहादुर खड्काले भने दुवै पक्षलाई महाधिवेशन प्रक्रिया रोक्दै संवाद र सहमतिमा जान आग्रह गरेका छन्। उनीहरु संस्थापन पक्षको महाधिवेशनमा सहभागी भएका छैनन् । इतर पक्षको महाअधिवेशनमा पनि सहभागी नहुने उनीहरुको अडान छ ।

कांग्रेसभित्रको विवादको एउटा प्रमुख आधार अदालतमा विचाराधीन विशेष महाधिवेशनसम्बन्धी मुद्दा पनि हो । सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।

त्यसविरुद्ध देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनरावलोकनमा गएपछि सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको छ। मुद्दाको अन्तिम निरूपण भने भइसकेको छैन।

यही विषयलाई आधार बनाउँदै देउवा समुहले अदालतबाट अन्तिम निर्णय नआएसम्म थापा नेतृत्वको प्रक्रियाअनुसार महाधिवेशन अघि बढाउनु उपयुक्त नहुने तर्क गर्दै आएका छन्।

यता थापा पक्षले भने अदालतको पछिल्लो प्रक्रियाले आफ्नो नेतृत्वमा रहेको कांग्रेसको वर्तमान संरचनालाई अवैधानिक नबनाएको तर्क गर्दै कार्यतालिका अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढाइरहेको छ ।

यसबीच केही देउवाका विश्वासपात्र मानिएका नेताहरू भने संस्थापनतिर आएर महाधिवेशन प्रक्रियामा सहभागी भइसकेका छन्।

कांग्रेस केन्द्रीय तहमा नेताहरूबीचको विवादको असर भने वडा र पालिका तहसम्म पुगेको देखिन्छ । एउटै पार्टीका दुई पक्षले फरक–फरक मिति र प्रक्रियाबाट अधिवेशन अघि बढाएसँगै कांग्रेसका तल्लो तहका नेता–कार्यकर्तामा अन्योल र निराशा देखिन्छ।