काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा उहाँले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, विदेशी मुद्रा आर्जन तथा युवा पलायन रोक्न यस्ता उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनका लागि हेटौँडामा ‘कोसेली घर’ निर्माण भइसकेको र जग्गा उपलब्ध भएका अन्य जिल्लामा समेत यसको विस्तार गरिने उनले बताए । महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै जिल्लास्तरीय औद्योगिक प्रदर्शनीका लागि बजेट व्यवस्था गरिएको मन्त्रीको भनाइ छ ।
त्यस्तै, उद्योग स्थापना भइसकेपछि वरपर बस्ती विकास हुँदा स्थानीय विरोधका कारण उद्योग स्थानान्तरण गर्नुपर्ने समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानुनी व्यवस्था गरेको उहाँले बताउनुभयो । प्रारम्भिक वातावरणीय परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा गरी स्थापना भएका उद्योगलाई अनावश्यक स्थानान्तरण हुन नदिई सुरक्षा प्रदान गरिने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गरे ।
उद्योग सञ्चालनका लागि ब्याजदरमा स्थिरता आवश्यक रहेको भन्दै उहाँले विगतमा बैंकको ब्याजदर १४–१५ प्रतिशतसम्म पुगे पनि हाल ६–७ प्रतिशतको हाराहारीमा आएको उल्लेख गर्दै उद्योगीलाई सहज हुने गरी निश्चित ब्याजदर कायम गर्नुपर्ने बताए ।
व्यवसायीलाई अप्ठ्यारो पार्ने ऐन, नियमाबली तथा कार्यविधि संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उनले बताए ।




प्रतिक्रिया