कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता


सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता भएको हो।

कार्यसम्पादन सम्झौता पश्चात् मुख्यमन्त्री शाहीले विकास बजेट समय सीमाभित्रै कार्यान्वयन गर्न निर्देशन दिए। कर्णालीमा चुनौतीका रूपमा रहेको विकास बजेट कार्यान्वयनको अवस्थालाई सुधार गर्नुपर्नेमा उनको जोड थियो।

साथै, अन्य कार्यसम्पादन पनि प्रभावकारी ढङ्गले सम्पादन गर्न सबै मन्त्री तथा सचिवहरूलाई शाहीले निर्देशन दिए । अब मन्त्रीहरूले सचिवसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन्।

साथै, उनले योजना अनुगमन प्रणालीलाई सकेसम्म प्रविधिसँग जोडेर लैजाने र अनुगमनलाई सहज, छिटो, नियमित र प्रभावकारी बनाउन एउटा छुट्टै सिस्टमको विकास गरेर प्रदेश सरकारले काम गर्ने बताए।

मुख्यमन्त्री शाहीले प्रमुख सचिव राधिका अर्यालसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्।