हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चालु आर्थिक वर्षमा मन्त्रालयले गर्ने कामलाई प्रभावकारी र समयमै सम्पन्न गर्ने उद्देश्यले आठ मन्त्रीसँग एक वर्षे कार्यसम्पादन सम्झौता गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा मंगलबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा समावेश योजना र आयोजनालाई निर्धारित समय र गुणस्तरअनुसार अघि बढाउने विषयमा मन्त्रीहरूसँग सम्झौता गरिएको हो।
प्रदेश सरकारले प्रदेश सुशासन ऐन, २०७७ र प्रदेश सुशासन नियमावली, २०७७ मा भएको व्यवस्थाअनुसार नतिजा सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरिएको जनाएको छ। सम्झौताअनुसार मन्त्रालयहरूले तोकिएका कार्यक्रम समयमै कार्यान्वयन गरी प्रगति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्नेछ।
कार्यक्रममा मुख्यमन्त्री थापाले आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसकेको उल्लेख गर्दै अब उपलब्ध करिब दुई सय दिनलाई विकास निर्माणका काममा केन्द्रित गर्नुपर्ने बताए। सार्वजनिक बिदालगायतका कारण काम गर्ने समय सीमित हुने भएकाले मन्त्रालयहरूले ढिलाइ गरे वार्षिक लक्ष्य पूरा गर्न चुनौती हुने उनको भनाइ थियो।
उनले मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीलाई बजेटमा समावेश योजनाको कार्ययोजना तयार गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए। मन्त्री, सचिव र कार्यालय प्रमुखले मातहतका कार्यक्रमको नियमित समीक्षा गर्दै परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा एमालेका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ रहेका छन्। नेकपाबाट आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले सम्झौता गरेका छन्।
त्यस्तै, राप्रपाका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ र उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पनि मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
गत भदौ ४ गते एमाले, राप्रपा र नेकपा सहभागी संयुक्त सरकार गठन भएको थियो। वाग्मती प्रदेशमा अघिल्ला सरकारका पालादेखि नै मुख्यमन्त्री, मन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता गर्ने अभ्यास रहँदै आएको छ।




प्रतिक्रिया