एमाले सचिव महेश बस्नेत भन्छन्- ‘चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिन्छौँ ‘


काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै चाडपर्व सकिएपछि सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले सरकार अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप लगाए। उनका अनुसार मुलुकमा महँगी, भ्रष्टाचार र कुशासन बढ्दै जाँदा अर्थतन्त्र तथा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।

हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सरकारका गतिविधिविरुद्ध प्रतिवाद गर्ने निर्णय गरेको उनले जानकारी दिए। पार्टीभित्रको एकतालाई थप मजबुत बनाउँदै कार्यकर्ता पङ्क्तिलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको बस्नेतको भनाइ छ।

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा केही अभियन्तालाई पक्राउ गरेको विषयमा पनि बस्नेतले प्रतिक्रिया जनाए। उनले उक्त कदमलाई ‘प्रतिशोधको राजनीति’ को संज्ञा दिँदै सरकारको गतिविधिविरुद्ध पार्टीले सशक्त रूपमा आवाज उठाउने बताए।

चाडपर्वको समय सकिएलगत्तै पार्टीले सरकारका गतिविधिविरुद्ध आन्दोलनलाई तीव्र बनाउने उनको भनाइ छ।